९ मंसिर २०८१, आईतवार
म्यानचेस्टर सिटी काराबाओ कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
मंगलबार राति भएको क्वाटरफाइनलमा लेष्टरलाई पेनाल्टी सुटआउटमा ३–१ गोल अन्तरले हराएर सिटीले सेमिफाइनलमा प्रवेश गरेको हो ।
लेष्टरको घरेलु मैदानमा भएको खेल निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो ।
म्यान्चेस्टर सिटीले खेलको सुरुवाती समयमा नै लिएको अग्रता जोगाउन नसक्दा पेनाल्टीमा पुगेको थियो । सिटीले खेलको १४ औं मिनेटमा केभिन डी ब्रुएनले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । तर, ७३ औं मिनेटमा लेष्टरका मार्क अल्ब्राईटनले गोल गर्दै खेल १–१ गोलको बराबरीमा ल्याएका थिए ।
निर्धारित समयसम्म खेल बराबरी भएपछि पेनाल्टीबाट छिनोफानो भएको हो ।
पेनाल्टी सुटआउटमा सिटीका लागि गुण्डुगान, ग्राबियल जिसस र एलेक्जेन्ड्रा जिन्चेन्कोले गोल गरे । रहिम स्टर्लिङले भने गोल गर्न सकेनन् ।
लेष्टरका ह्यारी मागुएरेले मात्र गोल गरेका थिए । लेष्टरका जेम्स म्याडीसन र कग्लर सोयन्चुको पेनाल्टी सिटीका गोलकिपर रिजानेत मुरीकले बचाएका थिए । क्रिस्टियन फुचको प्रहार क्रसबारमा लागेको थियो ।
यस्तै अर्को खेलमा लिग वान क्लब बुर्टोन अल्बोइनले मिडल्सब्रोलाई १–० ले हराएर सेमिफाइनलको यात्रा तय गरेका छन् ।