९ मंसिर २०८१, आईतवार
कैलाश विकास बैंक र सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीबीच आइतबार ‘बैंकासुरेन्स’ सेवा उपलब्ध गराउनेसम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा कैलाश विकास बैंकका कामु प्रमुख कार्यकारी अधिकृत कृष्ण गोपाल मानन्धर तथा सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषक राजपौडेलले हस्ताक्षर गरेका थिए ।
जीवनबीमाप्रति आम सर्वसाधारणको धारणामा सकारात्मक परिवर्तन ल्याई बिमाको सेवा तथा योजनामा सहज पहुँच उपलब्ध गराउन सफल सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी, र हरेक नेपालीहरू माझ बैंकिङ साक्षरता अभिवृद्धि गर्दै सहजताका साथ भरपर्दो बैंकिङ सेवा दिँदै आएको कैलाश विकास बैंकबीच भएको यो सम्झौताले ग्राहकवर्गका लागि थप सुविधा प्राप्त हुने विश्वास दुवै कम्पनीले लिएका छन् ।
सम्झौताअनुसार ग्राहकहरूले कैलाश विकास बैंकका सम्पूर्ण शाखाहरूबाट सिटिजन लाइफ इन्स्योरेन्सको जीवन बिमालेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दाबी गर्नलगायत सम्पूर्ण जीवन बिमा सेवाहरू प्राप्त गर्न सक्नेछन् । ग्राहकवर्गको सुरक्षा र निश्चिन्तताका लागि सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले ल्याएको सिटिजन जीवन सारथी जस्ता नवीन तथा नौलो योजनाहरूले कैलाश विकास बैंकका ग्राहकलाई पनि थप सुविधा प्रदान गर्ने जनाएको छ ।