१४ मंसिर २०८१, शुक्रबार
विश्व जलवायु परिवर्तनको चपेटामा परेका बेला सिन्धुपाल्चोक राष्ट्रिय जलवायु सम्मेलनको आयोजनामा जुटेको छ । जलवायु परिवर्तनका कारण पर्यावरणको अस्तित्व संकटमा परेकाले त्यसको न्यूनीकरणका लागि ७७ जिल्लाका जिल्ला समन्यवय समितिका संयोजकहरू सम्मेलनका लागि मेलम्ची नगरपालिका, ज्यामिरेको गुफाडाँडामा भेला हुन लागेका हुन् ।
सोमबार र मंगलबार चल्ने जलवायु सम्मेलनमा सिन्धुपाल्चोकका १२ स्थानीय तहका प्रमुख तथा उपप्रमुख, ७७ जिसस प्रमुख र विषयगत मन्त्रालयका सचिवसमेतको उपस्थिति रहने कार्यक्रम संयोजक कृष्णगोपाल तामाङले जानकारी दिए ।
कार्यक्रमको प्रचारप्रसारका लागि आज (आइतबार) काठमाडौंको तिनकुनेदेखि मेलम्ची खानेपानीको मुहान तिम्बुसम्म गाडी र्यालीको आयोजना गरिने र भोलिदेखि गुफाडाँडामा सम्मेलन चल्ने तामाङको भनाइ छ । कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको उनले बताए ।
सिन्धुपाल्चोको उत्तरी भेगमा पर्ने गुफाडाँडा आफैँमा मनोरम ठाउँ हो । नगरकोटदेखि उत्तरका लस्करै हिमाल अवलोकन गर्न सकिने गुफाडाँडाबाट जलवायु परिवर्तनको असरसमेत नियाल्न सकिने आयोजकको दाबी छ । जिल्ला समन्वय समिति महासंघले गर्न लागेको कार्यक्रमको व्यवस्थापकीय जिम्मेवारी सिन्धुपाल्चोक जिससले लिएको छ । जिल्लाको उच्च ठाउँमध्ये रहेको गुफाडाँडामै सम्मेलन आयोजना गर्दा जलवायु परिवर्तनको असरका बारेमा मूर्त छलफल गर्न पाइने आयोजकको दाबी छ ।
सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाइरहँदा जिसस प्रमुखहरू सिन्धुपाल्चोक जाने क्रम शुरू भएको छ । सम्मेलनस्थलमा ७७ जिल्ला झल्कने राष्ट्रिय झन्डा र ७ फिट अग्लो मूर्तिसमेत राखिएको तामाङले जानकारी दिए ।
“जलवायु परिवर्तनको असर वातावरणमा पर्छ र वातावरणको असर मानव जातीमा पर्छ भनेर झल्काउन खोजेका हौँ,” तामाङको भनाइ थियो ।
दुई दिन चल्ने सम्मेलनले सिन्धुपाल्चोक घोषणापत्रसमेत जारी गर्नेछ ।