कर्णालीमा पहिलोपटक १३२ केभी प्रशारण लाइन जडान

होमल्याण्ड खबर

२०८२ माघ २० गते, सोमबार १०:४० मा प्रकाशित

कर्णाली प्रदेशमै पहिलो पटक १३२ केभी प्रशारण क्षमताको विद्युत् जडान गरिएको छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आइतबार मध्यराती उक्त विद्युत जडान भएको जानकारी दिएका हुन् ।

उनले कर्णाली प्रदेशमै पहिलो पटक १३२ केभी प्रसारण लाइन चार्जमा ल्याउन प्राधिकरण सफल भएको भन्दै यसबाट कर्णाली प्रदेश तथा सुर्खेतका उपभोक्तालाई गुणस्तरीय विद्युत् उपयोग गर्ने अवस्था सिर्जना भएको बताए ।

शाक्यले यो आयोजनाको सञ्चालनसँगै कर्णालीमा ठूला उद्योगधन्दा सुरु हुने र सबै भन्दा बढी विद्युत उद्योगमा खर्च गर्नेमा प्राधिकरण आशावादी रहेको बताए । ‘अर्थतन्त्रको साँचो उद्योग–व्यवसाय हो र उद्योग–व्यवसायको साँचो ऊर्जा हो,’ उनले भने, ‘त्यसैले गुणस्तरीय ऊर्जाको आपूर्तिसँगै कर्णालीको अर्थतन्त्र सुधारका लागि थप ढोका खुल्नेमा प्राधिकरण आशावादी छ ।’

‘कोहलपुर–सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन आयोजना’ अन्तर्गतको कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन सञ्चालनमा आएसँगै कार्णलीमा ओभरलोड हुने, छिनछिनमा बत्ती गइरहने र लो–भोःल्टेजको समस्यामा सुधार हुने प्राधिकरणको अपेक्षा छ । यस क्षेत्रमा उत्पादन हुने विद्युत् राष्ट्रिय प्रसारण ग्रिडमा प्रवाह गराउन पनि महत्वपूर्ण योगदान गर्ने प्राधिकरणको भनाई छ ।

आयोजनाका प्रमुख रविकुमार चौधरीले करीब ५२ किलोमिटर लामो कोलपुर–सुर्खेत खण्डको काम छिटो सम्पन्न गरि विद्युत् प्रवाह सुरु गरिएको बताए । उनले दोस्रो खण्ड अन्तर्गतको सुर्खेत–दैलेखको काम पनि तिव्र गतिमा अघि बढेको र १ वर्षभित्र जडान भइसक्ने जानकारी दिए ।

जग्गाप्राप्ति, वन क्षेत्रको कटान र स्थानीय जग्गाधनीको विवाद लगायतका कुरालाई समाधान गर्दै आयोजना सफल बनाउन, प्राधिकरण र आयोजनाका कर्मचारी, स्थानीय सबैको योगदान रहेको पनि चौधरीले जानकारी दिए । उनले करीब ७५ करोडमा निर्माण भएको सब–स्टेसन तयारी अवस्था रहेको र करिब ६५ करोडमा निर्माण भएको प्रसारण लाइन पनि परीक्षणपछि सञ्चालनमा आएको जानकारी दिए ।