टी–२० विश्वकप: नेपालले दियो इटालीलाई १२४ रनको लक्ष्य

होमल्याण्ड खबर

२०८२ माघ ३० गते, बिहीबार १६:५१ मा प्रकाशित

आईसीसी टी–२० विश्वकपमा नेपालले इटालीलाई १२४ रनको लक्ष्य दिएको छ ।

मुम्बईको वाङ्खेडे स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल १९.३ ओभरमा अलआउट हुँदै १२३ रन बनाएको हो।

नेपालका लागि आरिफ शेखले सर्वाधिक २७ रन बनाए। उनले २४ बलमा ३ चौका प्रहार गरे। ओपनर आसिफ शेखले २० रन बनाए। कप्तान रोहित पौडलले २३, दीपेन्द्र सिंह ऐरीले १७ रन बनाए। त्यसपछि आएका ३ ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

१५.३ ओभरमा ५ विकेटको क्षतिमा १०० रन पूरा गरेको नेपालले त्यसपछि २ रन जोड्न ३ विकेट गुमायो। नवौं विकेटको रूपमा सन्दीप लामिछाने ५ रनमा क्याच आउट भए। ललित राजवंशी अन्तिम विकेटको रुपमा रनआउट भए। करण केसी १८ रनमा अविजित रहे।

इटालीका लागि बलिङतर्फ कृसन कालुगामागेले ३ विकेट लिए।  वेन मानेटीले २ विकेट लिँदा अलि हसन, जे जे स्मुटुस र जसप्रित सिंहले १-१ विकेट लिए। नेपाल र इटालीले पहिलो पटक टी-२० अन्तर्राष्ट्रिय खेलिरहेका छन्। यी दुई टोलीले सन् २०१३ मा अन्तिम पटक एकदिवसीय फर्म्याटमा खेलेका थिए।