९ मंसिर २०८१, आईतवार
नेपाली क्रिकेटको प्रवर्धन गर्न भन्दै अस्ट्रेलिया भ्रमणमा रहेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले नेपालमा थुप्रै प्रतिभावान खेलाडी रहेको र मौका पाए अन्य धेरै सन्दीप लामिछाने बन्ने बताएका छन् ।
एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेसको आयोजनामा अस्ट्रेलियामा भइरहेको क्रिकेट मेलामा कप्तान खड्काले प्रशिक्षण दिइरहेका छन् । कप्तान खड्कासहित दीपेन्द्रसिंह ऐरी, यु–१९ क्रिकेट टोलीका पूर्व सदस्य सुवास प्रधानले मेलामा सहभागी ४० जनालाई एकदिने प्रशिक्षण दिएका थिए । त्यही प्रशिक्षणका क्रममा पारसले त्यस्तो धारणा राखेका हुन् । तीनजना बाहेक यशवन्त सुवेदी र सुनाम गौतमको पनि सहभागिता छ ।
कप्तान पारससहितको टोलीले अस्ट्रेलियाको अन्य तीन सहरमा पनि प्रशिक्षण दिनेछन् । पुस २१ र २२ गतेमा सिड्नीमा, २६ गते ब्रिसवेन र २८ गते एडलेइडमा प्रशिक्षण कार्यक्रम छ । एडलेइडमा त्यहाँ रहेका नेपाली टोलीका पूर्व सदस्यसहितका खेलाडी सम्मिलित तीन टोली बनाएर ट्वान्टी–२० खेल खेल्ने सुवास प्रधानले जनाए ।
उक्त प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने दुई खेलाडीले आगामी संस्करणको पोखरा प्रिमियर लिगमा एक्सपर्ट धनगढी ब्लुजबाट खेल्ने अवसर पाउने एक्सपर्ट एजुकेशनका निर्देशन सञ्जिव शर्माले जानकारी दिए । उनले थपे, “हामी क्षमतावान खेलाडीको लागि अवसर पनि सिर्जना गर्छौं ।”