निर्वाचनका लागि ७ दल र ८६७ उम्मेदवारले खोले चुनावी खाता

होमल्याण्ड खबर

२०८२ फाल्गुन ८ गते, शुक्रबार १५:५० मा प्रकाशित

यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी उम्मेदवारहरूमध्ये ८ सय बढीले चुनावी खाता खालेको छन् ।

निर्वाचन आयोगले निर्वाचन खर्च बैंक तथा वित्तीय संस्थाका खातामार्फत गर्नुपर्ने बाध्यकारी व्यवस्था गरेपछि उम्मेदवारले चुनावी खाता खोलेका हुन् ।

आयोगकी सहायक प्रवक्ता सीता पुनका अनुसार हालसम्म ७ वटा दलले मात्रै निर्वाचन खाता खोलेका छन् । त्यससँगै ८६७ जना उम्मेदवारहरूले चुनावी खाता खोलेका छन् ।

चुनावी खाता खोल्नका लागि अहिले पनि सिफारिस लाने कार्य जारी रहेको उनले जानकारी दिइन् । उम्मेदवारहरूले चुनावी खाता खोलेकोबारे आयोगले छुट्टै अनुगमन अधिकृत तोकेको छ । चुनावी खाता खोल्ने क्रम तीव्र गतिमा भइरहेको निर्वाचन आयोगले जानकारी दिएको छ ।

निर्वाचनमा तीन हजार ४०६ जना प्रत्यक्षतर्फका उम्मेदवार छन् । निर्वाचनमा सहभागी राजनीतिक दल र उम्मेदवारले चुनावमा खर्च गर्न छुट्टै बैंक खाता खोल्ने व्यवस्था आयोगले गरेको छ ।

निर्वाचनमा भाग लिने दल र उम्मेदवारले यसअघिका निर्वाचनमा बैंक खातामार्फत खर्च गर्नुपर्ने अनिवार्य गरिएको थिएन । यस वर्षदेखि भने दल र उम्मेदवारले निर्वाचन खर्च अनिवार्य बैंक खातामार्फत गर्नुपर्ने व्यवस्था लागू गरेको हो । बैंकिङ प्रणालीबाट निर्वाचन खर्च पारदर्शी हुने आयोगले जनाएको छ ।

आयोगले विभिन्न आधारमा भूगोलअनुसार उम्मेदवारले २५ लाखदेखि ३३ लाखसम्म खर्च गर्न पाउने व्यवस्था गरेको छ । आर्थिक अनुशासनका लागि आयोगले यस्तो व्यवस्था गरेको जनाएको छ ।