३ चैत्र २०८२, मंगलवार
ब्राजिलियन राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक कार्लो एन्सेलोटीले आगामी फिफा अन्तर्राष्ट्रिय विन्डोका लागि टोलीको घोषणा गरेका छन्। मार्चको अन्त्यमा फ्रान्स र क्रोएसिया विरुद्ध हुने तय भएका मैत्रीपूर्ण खेलका लागि सार्वजनिक गरिएको टोलीमा ब्राजिलका कीर्तिमानी गोलकर्ता नेयमार भने अटाएका छैनन्।
सन् २०२३ को अक्टोबरमा उरुग्वे विरुद्धको खेलमा घुँडाको गम्भीर चोट भोगेपछि नेयमारले राष्ट्रिय टोलीबाट खेलेका छैनन्। हाल साओ पाउलोको क्लब सान्तोसमा आबद्ध भएका ३४ वर्षीय नेयमारले लय समात्न खोजे पनि मांसपेशीको समस्या र फिटनेशको अभावले उनलाई पिरोलिरहेको छ।


प्रशिक्षक एन्सेलोटीले नेयमारको प्राविधिक क्षमतामा कुनै शंका नरहे पनि शारीरिक रूपमा १०० प्रतिशत फिट रहेका खेलाडीलाई मात्र प्राथमिकता दिने स्पष्ट पारेका छन्। “नेयमार मैदानमा उत्कृष्ट छन्, तर उनलाई अहिले शारीरिक सुधारको खाँचो छ,” एन्सेलोटीले पत्रकार सम्मेलनमा भने।
प्रशिक्षक एन्सेलोटीले नेयमारको अवस्था बुझ्न सान्तोस र मिरासोल बीचको खेल हेर्न रंगशालामै पुगेका थिए, तर नेयमारले उक्त खेल फिट नभएका कारण खेल्न सकेनन्। पछि कोरिन्थियन्स विरुद्धको डर्बी खेलमा उनी मैदान उत्रिए तापनि उनको प्रदर्शन आशातीत रहन सकेन। एन्सेलोटीले स्पष्ट रूपमा पूर्ण रूपमा फिट रहेका खेलाडीलाई मात्र प्राथमिकता दिने रणनीति लिएका छन्।
नेयमार टोलीमा नपर्दा एन्सेलोटीले युवा र आक्रामक खेलाडीहरूलाई विश्वास गरेका छन्। टोलीमा रियल म्याड्रिडका भिनिसियस जुनियर, बार्सिलोनाका राफिन्हा, आर्सनलका गेब्रियल मार्टिनेली र चेल्सीका जोआओ पेड्रो जस्ता प्रतिभाहरू समेटिएका छन्। त्यस्तै, म्यानचेस्टर युनाइटेडका म्याथियस कुन्हा र लियोनमा रहेका युवा स्टार एन्ड्रिकले पनि टोलीमा स्थान बनाएका छन्।
अनुभवी खेलाडीका रूपमा म्यानचेस्टर युनाइटेडका क्यासेमिरो र पीएसजीका मार्किन्होसले टोलीको नेतृत्व गर्नेछन्। यदि नेयमारले आगामी दुई महिनामा आफ्नो पुरानो लय र शारीरिक तन्दुरुस्ती प्रमाणित गर्न सकेनन् भने, २०२६ को विश्वकपमा ब्राजिलियन जर्सीमा उनलाई देख्न नपाइने सम्भावना प्रबल देखिएको छ।