फेवाताल अतिक्रमण विवादमा कर्ण शाक्यको दाबी: नियम उल्लङ्घन गरेको छैन

होमल्याण्ड खबर

२०८२ चैत्र २२ गते, आईतवार ११:०१ मा प्रकाशित

पर्यटन व्यवसायी कर्ण शाक्यले फेवाताल किनारमा सञ्चालित आफ्नो होटलले कुनै पनि प्रकारले जग्गा अतिक्रमण नगरेको दाबी गरेका छन्। पोखरा महानगरपालिकाले लेकसाइड क्षेत्रमा रहेको उक्त होटलको केही संरचना हटाएपछि उनले सार्वजनिक रूपमा स्पष्टीकरण दिएका हुन्।

शाक्यका अनुसार होटल सञ्चालनका लागि आवश्यक सबै कानुनी प्रक्रिया पूरा गरिएको छ। “हामीसँग लालपुर्जा, नक्सा पास, पर्यटन विभागको लाइसेन्स, उद्योग विभागको प्रमाणपत्र, राष्ट्र बैंकको अनुमति सबै छ। नियमित रूपमा कर तिरेका छौं, कुनै बैंक ऋण पनि छैन,” उनले बताएका छन्। उनले सबै नियम पालना गर्दा पनि आफूहरूमाथि कठोर व्यवहार गरिएको भन्दै प्रश्न उठाएका छन्।

लेकसाइडमा रहेको ‘वाटर फ्रन्ट होटल’ फेवातालको तोकिएको सीमाभित्र परेको भन्दै महानगरपालिकाले शनिबार केही संरचना हटाएको थियो। शाक्यले भने बिना पूर्वसूचना यस्तो कदम चालिएको भन्दै असन्तुष्टि जनाएका छन्।