९ मंसिर २०८१, आईतवार
एजेन्सी । शीर्ष क्लब लिभरपुलको २० खेलसम्मको अपराजित यात्रामा पूर्णबिराम लगाउँदै साबिक बिजेता म्यानचेष्टर सिटीले उपाधि होड बलियो बनाएको छ । बिहीबार राति घरेलु मैदानमा २-१ को नतिजा निकाल्दै सिटीले लिभरपुलसँगको दुरी ४ अंकमा झारेको छ ।
उपाधि सम्भावना कायमै राख्नका लागि इतिहाद रंगशालामा सिटीलाई जित्नुको विकल्प थिएन । लिभरपुल पनि सिटीलाई हराउँदै उपाधि यात्रा सहज बनाउन चाहन्थ्यो । त्यसैले बिहीबार रातिको इतिहाद रंगशाला ९० मिनेट नै तनावपूर्ण रह्यो ।
खेल सकिन १८ मिनेट बाँकी छँदा रहिम स्टर्लिङको पासलाई नियन्त्रणमा लिँदै लोरी सानेले गरेको गोल सिटीलाई महत्वपूर्ण ३ अंक दिलाउन निर्णायक बन्यो । त्यसअघि सर्जियो अग्विरोले ४०औं मिनेटमा गरेको गोलमा सिटीले अग्रता लिएको थियो । ६४औं मिनेटमा रोबर्टो फिर्मिनोले हेडमार्फत गोल गर्दै लिभरपुलको अपराजित यात्रा कायम राख्ने प्रयास गरेका थिए ।
सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले यो खेल हारेको भए उपाधि दौड समाप्त हुने बताए ।
“खेलाडीले गरेको प्रदर्शनमा गर्व छ । र त्यो आज मात्र होइन । हामीले चार दिनमा दुई खेल हार्यौं तर १६ महिनासम्म यिनीहरूले गरेको प्रदर्शन भुल्न सकिँदैन । हामीलाई थाहा थियो आज फाइनल जस्तै हो भनेर । आज हारेको भए उपाधि होड सकिन्थ्यो,” सिटीका प्रशिक्षक ग्वार्डिवलाले भने, “जितको श्रेय खेलाडीलाई जान्छ । हामीलाई दबाब थियो तर हामी डराएका थिएनौं । उनीहरू शीर्ष स्थनमा थिए । चार अंकको अन्तर छ। यो अन्तर पनि घटाउनु पर्छ । यो खेल जित्दा हाम्रो उपाधि कायम रहन्थ्यो, नभए समाप्त हुन्थ्यो । यो हामीलाई राम्रोसँग थाहा थियो । यहाँ अरू पनि उपाधि होडमा छन् । त्यसैले अबका सबै खेल फाइनल जस्तै हुन्छन् ।”
हारसँगै लिभरपुलको अपराजित यात्रा २१ खेलमै टुंगिएको छ । २००३/०४ मा आर्सनल ३८ खेलमा अपराजित रहेको थियो भने म्यानचेष्टर युनाइटेड २०१०/११ मा २४ खेलसम्म अपराजित रहेको थियो । २०१७/१८ मा म्यानचेष्टर सिटी २२ खेलसम्म अपराजित थियो । लिभरपुलले अप्रिलमा वेष्ट ब्रोमसँग २-२ को बराबरी खेलेपछि लिगमा १ गोकभन्दा धेरै गोल खाएको यो पहिलो हो ।
“यो खेलमा धेरै दबाब थियो । आज सिटीभन्दा हामी अभागी रह्यौँ । हामीले अवसर सिर्जना गरेका थियौँ । तर त्यस्तै अवस्थामा उनीहरूले गोल गर्दा हामीले गर्न सकेनौं । यो दुबै टोलीको उत्कृष्ट प्रदर्शन होइन । किनकी दुबैले एक अर्कालाई खेल्न दिएका थिएनौं । आज हामी हार्यौं तर यो धेरै ठुलो समस्या होइन । खेलमा हारजित हुन्छ ।”