पाँचथरमा सडक पुगेको करिब ३० वर्षपछि कालोपत्रे

होमल्याण्ड खबर

२०७५ पुष २० गते, शुक्रबार १६:५५ मा प्रकाशित

पाँचथरको चर्चित सडक खण्ड राँके, रवि, भेडेटार सडक खण्ड कालेपत्रे हुने भएको छ । सडक खनेको करिब ३० वर्षपछि सडक कालेपत्रे हुन लागेको हो । पाँचथर, इलाम र धनकुटालाई छुने उक्त सडक वर्षौंदेखि कालेपत्रेको पर्खाइमा थियो । भारतको एक्जिम बैंक अपm इन्डियाको ऋण सहयोगमा कालोपत्रे गर्नका लागि ठेक्का सम्झौता भई पक्रिया अघि बढेको छ ।

३० वर्षपछि कालेपत्रे हुने उक्त सडकको आज शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले पाँचथरको मिक्लाजुङ गाउँपालिकाको केन्द्र रवि बजारमा शिलान्यास गर्ने कार्यक्रम छ । वि.सं २०४६ सालमा सडक पुगेको रविमा यतिबेला सडक कालोपत्रेको शिलान्यासका लागि तयारी भइरहेको छ । ओलीसँग अन्य मन्त्री र प्रदेश १ का मुख्यमन्त्री लगायतका नेता रवि आउने कार्यक्रम छ । धनकुटाको भेडेटारदेखि पाँचथरको राँकेसम्म १ सय किमि सडक कालोपत्रे हुने भएको हो ।

नोभेम्बरमा ठेक्का सम्झौता भइसकेको सडक सुधार तथा विकास आयोजनाले जानकारी दिएको छ । पाँचथरको राँकेबाट धनकुटाको भेडेटारसम्म १०० किमिको दूरीमा रहेको यो सडकले पाँचथर र धनकुटालाई जोड्ने छ । सडक धनकुटाको भेडेटारदेखि पाँचथर र इलामको सिमाना राँकेमा रहेको मेची राजमार्गमा जोडिन्छ । सडकले धनकुटाको भेडेटार, नाप्जे, ओख्रे, डाँडाबजार, राजारानी, चौकीभञ्ज्याङ, देउराली, समिया, मढेवास, सौरेबजार र ६ नम्बर बुधबारेलाई छुन्छ । यस्तै, पाँचथरका कम्फुटार, लेकगाउँ, कन्याटार, दारेगौडा, चिसापानी पञ्चमी, रवि, सप्तमी, उत्तरे, घुबिर्से पञ्चमी, पुरानो पञ्चमी र देउराली तथा इलामका फुयतप्पा, चमैता, एकतप्पालाई सडकले छुन्छ ।