एसीसी प्रिमियर कप: नेपालद्वारा भुटानसामु ११४ रनको मध्यम लक्ष्य प्रस्तुत

होमल्याण्ड खबर

२०८३ जेष्ठ २१ गते, बिहीबार १०:३० मा प्रकाशित

 मलेसियामा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिता अन्तर्गत भुटानविरुद्धको खेलमा नेपालले मध्यम योगफल तयार पारेको छ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरको अन्तिम बलमा आफ्ना सबै विकेट गुमाउँदै ११३ रन मात्र बनाउन सक्यो। नेपालले अब भुटानलाई रोक्न ११४ रनको लक्ष्य रक्षा गर्नुपर्नेछ।

नेपालको ब्याटिङ इनिङ्समा अनुभवी खेलाडी सिता राना मगरले सर्वाधिक योगदान दिइन्। उनले २८ बलको सामना गर्दै ३७ रनको महत्वपूर्ण इनिङ खेलिन्।

सुरुवातमा दबाबमा परेको नेपाली टोलीलाई उकास्न सिताले आठौं विकेटका लागि रुविना क्षेत्रीसँग मिलेर ३१ बलमा ४० रनको बलियो साझेदारी गरेकी थिइन्। रुविना क्षेत्रीले पनि टोलीको स्कोर बढाउने क्रममा २१ बलमा २४ रनको योगदान दिइन्।

अन्य ब्याटरहरूमा सोनी पाख्रीनले १३ रन जोडिन भने सम्झना खड्का १० रन बनाएर आउट भइन्। नेपालका अन्य खेलाडीहरूले भने क्रिजमा खासै दोहोरो अंक जोड्न सकेनन्।

भुटानको कसिलो बलिङसामु नेपाली ब्याटरहरू खुलेर खेल्न सकेनन्। भुटानका लागि छिरिङ ज्याङ्बो र सोनामले उत्कृष्ट बलिङ गर्दै समान ३-३ विकेट लिए।

त्यस्तै, कप्तान अञ्जु गुरुङले २ विकेट झारिन् भने रित्शी चोदेन र रिया प्रधानको भागमा समान १-१ विकेट रह्यो।