१५ मंसिर २०८१, शनिबार
सरकारले वैशाखयता आठ महिनामा ७७ विदेशीलाई देशनिकाला गरेको समाचार आजको नयाँ पत्रिकाले पहिलो पृष्ठमा छापेको छ ।
समाचारमा लेखिएको छ, लागुऔषध कारोबार, आपराधिक क्रियाकलापमा संलग्नदेखि धर्म परिवर्तन गराउँदै हिंड्ने २४ देशका ७७ नागरिक कारबाहीमा परेका हुन् ।
गृह मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार भिसाविना नै नेपाल बसेका ३४ विदेशीलाई निकालिएको छ ।
उनीहरूलाई कम्तीमा एकदेखि तीन वर्षसम्म नेपाल प्रवेश नपाउने गरी निकाला गरिएको छ ।
त्यस्तै, १३ विदेशी बैंकिङ कसुर गरेको अभियोगमा निकालिएका छन् । उनीहरू कम्तीमा तीन वर्षसम्म नेपाल बस्न पाउनेछैनन् ।
जाली भिसा प्रयोग गरेर बस्दै आएका १० जनालाई पाँच वर्षसम्म प्रवेशमा प्रतिबन्ध लगाउँदै निकाला गरिएको छ ।
यस्तै, लागुऔषध तथा बालयौन दुराचारमा संलग्न पाँच विदेशीलाई १० वर्षसम्म नेपाल छिर्न नपाउने गरी कारबाही गरिएको छ ।