९ मंसिर २०८१, आईतवार
मेलम्ची खानेपानी आयोजनामा काम गर्दै आएको इटालीको सीएमसी कम्पनी सोमबार (भोलि) नेपाल फर्किने भएको छ । उक्त कम्पनीका प्रतिनिधि सोमबारसम्ममा नेपाल आइपुग्ने मेलम्ची खानेपानी आयोजनाले बताएको छ ।
पुस २ गतेदेखि कम्पनीका प्रमुख व्यवस्थापकसहित २७ जना इन्जिनियर आयोजनाबाट फरार थिए । खानेपानी मन्त्रालयले आयोजनाका प्रतिनिधि नयाँ वर्ष र क्रिसमस मनाउन विदेश गएको बताएको थियो ।
ठेकेदार कम्पनीका प्रतिनिधि नेपाल फर्किएपछि कम्पनीका प्रमुखसहित इन्जिनियरहरुसँग वार्ता गरी थप काम अगाडि बढाइने आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिए ।
“सोमबारसम्म कम्पनीका प्रतिनिधिसहित इन्जिनियरहरु काठमाडौं आइपुग्ने जानकारी आएको छ । पहिला प्रतिनिधिहरुसँग वार्ता गर्छौं,” पन्तले भने, “कम्पनीका तर्फबाट ती प्रतिनिधिले आयोजना सम्पन्न गर्न थप समय माग्ने देखिएको छ । कम्पनीका आवश्यक शर्त मानेर सीएमसीलाई पुनः कामको जिम्मेवारी दिन्छौं ।”
कम्पनीले गएको पुस २ गते आयोजना सम्पन्न गर्न नसक्ने बताउँदै आयोजनालाई ठेक्का रद्द गर्न लेटर टु टर्मिनेसन पत्र बुझाएको थियो । आयोजनास्थलमा काम ठप्प पारेर कम्पनीका प्रतिनिधि इटाली उड्न लागेको अवस्थामा मन्त्रालयले ती प्रतिनिधिहरुको पासपोर्ट लिएको थियो ।
इटालियन दूतावासले आयोजनाको सुरुङ र हेडबक्सको काम सम्पन्न गर्न कम्पनीलाई पहल गरेपछि सरकारले कम्पनीका सबै प्रतिनिधिहरूलाई विदेश जान दिएको हो । गएका सबै प्रतिनिधि सामबार काठमाडौं आइपुग्ने र चाँडै मेलम्चीको काम सुचारु गर्ने प्रवक्ता पन्तले बताए ।