२१ भाद्र २०८३, आईतवार
फिफा विश्वकप २०२६ को राउन्ड अफ १६ (अन्तिम १६) को खेलमा नर्वेसँग २-१ गोल अन्तरले पराजित भएसँगै ब्राजिल प्रतियोगिताबाट बाहिरिएको छ। यस स्तब्धपूर्ण हारलगत्तै ब्राजिलका स्टार फरवार्ड नेयमारले भावुक बन्दै अन्तर्राष्ट्रिय फुटबलबाट आफ्नो सन्यासको घोषणा गरेका छन्।
यो ऐतिहासिक खेललाई नर्वेको पक्षमा पार्न स्टार स्ट्राइकर एर्लिङ हालान्डले उत्कृष्ट प्रदर्शन गरे। उनले खेलको ७९औँ र ९०औँ मिनेटमा दुई गोल गर्दै आफ्नो टोलीलाई क्वाटरफाइनलको यात्रा गराए। खेलको इन्जुरी समयमा ब्राजिलका लागि नेयमारले पेनाल्टीमार्फत एक सान्त्वना गोल फर्काए पनि त्यो टोलीलाई जोगाउन पर्याप्त भएन।


खेलपछि ग्लोबो सञ्चारमाध्यमसँग कुरा गर्दै नेयमारले भने, ‘मैले प्रयास गरेँ, धेरै प्रयास गरेँ। तर अब यो यात्रा सकियो। मैले यहीँबाट सुरुवात गरेको थिएँ र यहीँ आएर अन्त्य गरेँ।’ संयोगवश, नेयमारले सन् २०१० को अगस्टमा यही मेटलाइफ स्टेडियममा अमेरिकाविरुद्धको मैत्रीपूर्ण खेलबाट अन्तर्राष्ट्रिय डेब्यु गर्दै पहिलो गोल गरेका थिए र आफ्नो अन्तर्राष्ट्रिय खेल जीवनको अन्त्य पनि उनले सोही मैदानमा गर्न पुगे।
हालका वर्षहरूमा चोटका कारण धेरै समस्या झेलेका नेयमारले ब्राजिलका लागि १३० खेल खेल्दै ऐतिहासिक ८० गोल गरेर सन्यास लिएका छन्। उनी महान् खेलाडी पेले (७७ गोल) लाई पछि पार्दै ब्राजिलको इतिहासमै सर्वाधिक गोल गर्ने खेलाडी हुन्।
नर्वेविरुद्ध गरेको गोलसँगै नेयमार पेलेपछि चारवटा फरक विश्वकपमा गोल गर्ने दोस्रो ब्राजिलियन पुरुष खेलाडी समेत बनेका छन्। उनी ब्राजिलका लागि सर्वाधिक खेल खेल्ने खेलाडीको सूचीमा काफु (१४२ खेल) पछि दोस्रो स्थानमा रहे।