नेप्से सूचक २६ अंकले घट्यो

होमल्याण्ड खबर

२०८३ असार २२ गते, सोमबार १५:३८ मा प्रकाशित

साताको पहिलो कारोबार दिन सोमबार शेयरबजार परिसूचक नेप्से २६ अंकमाथिले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से सूचक २६.२९ अंकले घट्दै २ हजार ६२७.११ अंकमा झरेको हो ।

यस दिन कारोबारसमेत घटेर ३ अर्ब ५५ करोड ७९ लाख रुपैयाँ बराबरको ७५ लाख ४० हजार कित्ता शेयर दोस्रो बजारमा किनबेच भएको नेप्सेले जनाएको छ । अघिल्लो साताको अन्तिम दिन शुक्रबार ८ अंकले सूचक घटेको बजारमा ४ अर्ब ४१ करोड २३ लाख ४० हजार रुपैयाँ बराबरको ८५ लाख ८४ हजार कित्ता शेयर किनबेच भएको भएको थियो ।

आज १३ वटै उपसूचक ऋणात्मक हुँदै बजार नै राताम्मे हुन पुगेको छ । २३९ कम्पनीको शेयर मूल्य घट्दा आज जम्मा ३४ कम्पनीको मात्र मूल्य बढेको छ ।

स्नो रिभर र सानीगढी हाइड्रको शेयर मूल्य आज समान १४.९९ प्रतिशतले बढेको छ भने कलंगा हाइड्रोको शेयर मूल्य १४.९८ प्रतिशतले बढेको छ । तथापि, थ्री स्टार हाइड्रोपावरको शेयर मूल्य भने आज १३.७९ प्रतिशतले घट्न पुगेको छ ।