जापानी विदेशमन्त्री आज नेपाल आउँदैः नेपाल–जापान हवाई सम्झौता हुँदै

होमल्याण्ड खबर

२०७५ पुष २५ गते, बुधबार १०:२० मा प्रकाशित

जापानी विदेशमन्त्री तारो कोनो दुई दिने नेपाल भ्रमणका लागि बुधबार काठमाडौं आउँदै छन् ।

परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीको निमन्त्रणामा तारो १८ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपालको दुई दिवसीय औपचारिक भ्रमणमा आउन लागेका हुन् ।

नेपाल भ्रमणका क्रममा तारोले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ ।

तारो बिहिबार नै स्वदेश फर्कने कार्यक्रम छ ।

त्यस्तै, बुधबार परराष्ट्र मन्त्री ज्ञवाली नेतृत्वको नेपाली प्रतिनिधि मण्डल र तारो नेतृत्वको जापानी प्रतिनिधि मण्डलबीच द्विपक्षीय भेटवार्ता हुने तय भएको छ ।

परराष्ट्र मन्त्रीस्तरीय भेटवार्ताका क्रममा नेपाली कामदार, द्विपक्षीय हवाई सेवा, कृषिको आधुनिकीकरण, ऊर्जा, पूर्वाधार विकासजस्ता विषयमा सम्झौता हुँदै छ ।

गत असार ४ मा नेपाल–जापानबीच सिधा हवाई सम्झौता भए पनि त्यसलाई यही भ्रमणमार्फत कूटनीतिक तवरमा औपचारिकता दिने तयारी गरिएको छ ।