वैकल्पिक मार्गबाट काठमाडौंमा पेट्रोलियम पदार्थ र एलपी ग्यास ल्याइयो : आयल निगम

होमल्याण्ड खबर

२०८३ भाद्र २१ गते, आईतवार १२:०८ मा प्रकाशित

पृथ्वी राजमार्गको कृष्णभिर खण्डमा सडक अवरुद्ध भएपछि नेपाल आयल निगमले वैकल्पिक बाटोबाट काठमाडौँमा पेट्रोलियम पदार्थ र एलपी ग्यास ल्याउन थालिएको जनाएको छ ।

निगमका अनुसार काठमाडौँ उपत्यका तथा आसपासका क्षेत्रमा त्रिभुवन राजपथ (बाइरोड) मार्फत पेट्रोलियम पदार्थ र एलपी ग्यासको आपूर्ति गरिएको छ ।

भदौ १४ गते त्रिशुली नदीको कटानका कारण पृथ्वी राजमार्ग भत्किँदा इन्धन बोकेका ट्यांकर तथा ग्यास बुलेटहरू रोकिएका थिए । त्यसपछि निगमले वैकल्पिक मार्ग प्रयोग गरी तराईका उद्योगहरूमा भरिएका ग्यास सिलिन्डर काठमाडौँ भिर्त्याउन थालेको हो।

निगमका अनुसार भदौ १८ गते करिब २४ हजार ५०० र भदौ १९ गते करिब ३४ हजार १३४ सिलिन्डर उपत्यका भित्र्याइएको छ ।

भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोर्खा र चितवन लगायतका जिल्लाहरूमा क्षति पुगेपछि जारी खोज तथा उद्धार कार्यका लागि समेत निगमले हवाई इन्धन र ग्यास उपलब्ध गराइरहेको जनाएको छ ।

उद्धारमा खटिएका हेलिकप्टरहरूका लागि नुवाकोटस्थित नेपाली सेनाको ब्यारेकबाट हालसम्म १ लाख २० हजार लिटर हवाई इन्धन रिफ्युलिङ गराइसकेको छ ।

साथै, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको अनुरोधमा रसुवा र नुवाकोटका अस्थायी सेल्टरहरूमा ५७५ थान एलपी ग्यास सिलिन्डर पठाइएको निगमले जनाएको छ ।