७ आश्विन २०८३, बुधबार
पछिल्ला केही दिनदेखि बढ्दो क्रममा रहेको नेपाल स्टक एक्सचेञ्ज (नप्से) परिसूचकमा बुधबार भारी गिरावट आएको छ । आज नेप्से परिसूचक ३६.२५ अंकले घटेर २ हजार ६१८.०३ विन्दुमा झरेको हो ।
बजारमा बिक्री चाप बढेपछि अधिकांश कम्पनीको सेयर मूल्य घटेको छ । आज कारोबार भएका २७८ कम्पनीमध्ये २५३ कम्पनीको सेयर मूल्य घट्दा २३ कम्पनीको मूल्य बढेको छ । दुई कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो ।


नेप्से परिसूचकमा उल्लेख्य गिरावट आए पनि बजारमा कारोबार रकम भने ६ अर्ब रुपैयाँभन्दा बढी पुगेको छ । यसले बजारमा बिक्री चापसँगै कारोबार गतिविधि पनि उच्च रहेको देखाएको छ ।
आज धौलागिरि लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। बजारमा अधिकांश कम्पनीको मूल्य घट्दा लघुवित्ततर्फ भने उक्त कम्पनीका लगानीकर्ताले सकारात्मक प्रतिफल पाएका छन् ।
कारोबार रकमका आधारमा शिवम् सिमेन्ट अग्रस्थानमा रहेको छ। कम्पनीको ३८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
त्यस्तै रिलायन्स स्पिनिङ मिल्सको २१ करोड र हिमालयन डिस्टिलरीको २० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
पछिल्ला केही दिनयता बढेको बजारमा बुधबार एकैदिन ३६ अंकभन्दा बढीको गिरावट आएपछि लगानीकर्ताबीच बजारको आगामी दिशालाई लिएर चासो बढेको छ ।