१२ आश्विन २०८३, सोमबार
अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी)की अध्यक्ष जोउ जियायी बीच भेटवार्ता भएको छ। गभर्नर परिषद्को ११ औँ वार्षिक बैठकमा सहभागी हुन दोहा पुगेका अर्थमन्त्री डा. वाग्लेले नेपालमा एआईआईबीको लगानी विस्तार, प्राकृतिक विपदपछिको पुनर्निर्माण तथा सहुलियतपूर्ण वित्तीय पहुँच विस्तार गर्न बैंककी अध्यक्ष जोउ जियायीलाई आग्रह गरेका छन्।
भेटका क्रममा एआईआईबीकी अध्यक्ष जोउले हालै भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण नेपालले भोग्नुपरेको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो समवेदना प्रकट गरिन्। उनले विपदपछिको उत्थानशील पुनर्निर्माणमा बैंकका तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए। अध्यक्ष जोउले बैंकले प्रोजेक्ट प्रिपरेसन स्पेसलाइस्ड फण्ड मार्फत परियोजना तयारीका लागि अनुदान सहायता उपलब्ध गराउने बताइन्।


स्पेसलाइस्ड फण्ड विन्डो अन्तर्गतको अनुदान प्रयोग गरी एआईआईबीले नेपाललाई दिने ऋणलाई अधिकतम सहुलियतपूर्ण ब्याजदरमा कायम गर्न सकिने विचार उनले व्यक्त गरिन्। एआईआईबीको संस्थापक सदस्य राष्ट्र नेपालको आर्थिक विकासमा थप सहकार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धतासमेत उनले दोहोर्याइन्।
अर्थमन्त्री डा.वाग्लेले मध्यमकालीन तथा दीर्घकालीन सहायताअन्तर्गत हरित ऊर्जा, सीमापार विद्युत् प्रसारण लाइन, सडक पूर्वाधार र डिजिटल पूर्वाधारको विकासमा बैंकको आफ्नै स्रोतका साथै अन्य दातृ निकायको स्रोतसमेत परिचालन गरिदिन आग्रह गरे। छलफलकै क्रममा अर्थमन्त्री डा.वाग्लेले अध्यक्ष जोउलाई सन् २०२६ भित्रै नेपाल भ्रमणका लागि निमन्त्रणासमेत दिए।