कर्णाली राजमार्गमा काम नगर्ने ६ वटा निर्माण कम्पनी कालोसूचीमा

होमल्याण्ड खबर

२०८३ आश्विन १८ गते, आईतवार ११:१५ मा प्रकाशित

जुम्ला हुँदै मनाङ–मुस्ताङसम्म जोड्ने सडकसहित कर्णाली राजमार्ग र नाग्म–गमगडी सडकको स्तरोन्नति तथा निर्माणको सम्झौताअनुसार, काम नगर्ने ६ वटा निर्माण कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको छ । सडक डिभिजनसँग उक्त राजमार्गको निर्माण गर्नका लागि आर्थिक वर्ष २०७५ देखि २०८० सालसम्म सम्झौता भएका निर्माण कम्पनीले समयमै काम नगर्दा सार्वजनिक खरिद अनुगमन कार्यालय काठमाडौंलाई कालोसूचीमा राख्नको हो ।

सडक डिभिजन कार्यालय जुम्लाका अनुसार सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा ९१० बमोजिम सडक डिभिजनले सिफारिस गरेका तीनवटा निर्माण कम्पनीमध्ये ‘विनम्र निर्माण सेवा सुर्खेतलाई तीन वर्षका लागि कालोसूचीमा राखिएको छ । ध्रुव निर्माण सेवा वीरेन्द्रनगर सुर्खेतलाई दुई वर्षका लागि र अविनाश निर्माण सेवा छायानाथ मुगुलाई एक वर्षका लागि कालोसूचीमा राखिएको सार्वजनिक सूचनामा उल्लेख गरिएको छ ।

यसैगरी शंकरमाली निर्माण सेवा काठमाडौं र मान शाही निर्माण सेवा कालीकोटलाई तीन–तीन वर्ष तथा कश्यप निर्माण सेवा काठमाडौंलाई दुई वर्षका लागि कालोसूचीमा राखिएको छ । कालोसूचीमा परेका कम्पनीले तोकिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नपाउने सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ ।