एनएमबी बैंकले सुरु गर्यो ‘लुप क्रेडिट’ र इएमआई सेवा

होमल्याण्ड खबर

२०८३ आश्विन २५ गते, आईतवार ११:१८ मा प्रकाशित

एनएमबी बैंक लिमिटेडले सिटीटेक ग्रुप र स्मार्ट च्वाइस टेक्नोलोजिज (एससीटी) सँगको सहकार्यमा ‘लुप क्रेडिट’ र मासिक किस्ताबन्दी (इएमआई) सेवा सुरु गर्ने भएको छ। यसका लागि बैंकले लुप नेटवर्कमा जारीकर्ता बैंकका रूपमा आबद्ध हुन तीन पक्षबीच सम्झौता गरेको छ।

सम्झौताअनुसार एनएमबी बैंकका ग्राहकले लुप नेटवर्कमा आबद्ध विभिन्न पसल तथा व्यावसायिक संस्थाबाट सामान खरिद गर्दा तत्काल खरिद कर्जा अर्थात् ‘लुप क्रेडिट’ सुविधा लिन सक्नेछन्। यसले ग्राहकलाई खरिदका लागि आवश्यक रकमको व्यवस्थापन गर्न डिजिटल माध्यमबाट कर्जाको सुविधा उपलब्ध गराउने बैंकले जनाएको छ।

त्यस्तै, ग्राहकले आफ्नो एनएमबी बैंकको डेबिट कार्ड वा क्यूआरमार्फत गरेको भुक्तानीलाई पनि लुप इएमआई सुविधामार्फत मासिक किस्तामा रूपान्तरण गर्न सक्नेछन्। यसबाट एकैपटक गर्नुपर्ने भुक्तानीलाई निश्चित अवधिमा किस्ताबन्दी गरेर तिर्न सकिनेछ।

बैंकका अनुसार यो सेवाले ग्राहकलाई सामान खरिद गर्दा भुक्तानीको विकल्प थप्ने र खर्च व्यवस्थापनमा सहजता प्रदान गर्ने अपेक्षा गरिएको छ। लुप नेटवर्कमा आबद्ध पसल तथा व्यावसायिक संस्थाबाट सेवा लिन सकिने भएकाले डिजिटल भुक्तानी र उपभोक्ता कर्जाको पहुँच विस्तारमा समेत सहयोग पुग्ने बैंकको अपेक्षा छ।

डिजिटल वित्तीय सेवा विस्तार गर्ने उद्देश्यले गरिएको यस सहकार्यमा एनएमबी बैंकले जारीकर्ता बैंकका रूपमा काम गर्नेछ भने सिटीटेक ग्रुप र एससीटीसँगको सहकार्यमा लुप नेटवर्कमार्फत सेवा उपलब्ध गराइनेछ।

एनएमबी बैंकले हाल देशभर १९७ शाखा, १७६ एटीएम र ९ एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ।