४७ दिनपछि नुवाकोट–रसुवा यातायात पुनःसञ्चालनमा, फलाखु खोलामा बन्यो बेलिब्रिज

होमल्याण्ड खबर

२०८३ आश्विन २५ गते, आईतवार १५:५३ मा प्रकाशित

भदौ १० गते भोटेकोसीमा आएको बाढीका कारण फलाखु खोलामा रहेका नयाँ र पुराना दुवै मोटरेबल पुल बगाएपछि अवरुद्ध नुवाकोट–रसुवा यातायात सम्बन्ध ४७ दिनपछि पुनःस्थापित भएको छ।

बाढीले पुल बगाएको स्थानमा बेलिब्रिज निर्माण गरी सञ्चालनमा ल्याइएसँगै दुई जिल्लाबीचको सडक सम्पर्क पुनःजोडिएको हो। उक्त स्थानमा मोडुलर एक्रो ब्रिज (बेलिब्रिज) निर्माण गरिएको छ।

नेपाली सेनाले करिब दुई साताको अवधिमा बेलिब्रिज निर्माण सम्पन्न गरेको हो। पुल सञ्चालनमा आएसँगै नुवाकोटको विदुर नगरपालिका–१० र रसुवाको उत्तरगया गाउँपालिका–५ बीच आवागमन सहज भएको छ।

पुल निर्माण सम्पन्न भएपछि विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठ, उत्तरगया गाउँपालिकाका अध्यक्ष माधव अर्याल, स्थानीय जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीलगायत नेपाली सेनाका प्रतिनिधिको उपस्थितिमा पुल सञ्चालनमा ल्याइएको हो।