२९ आश्विन २०८३, बिहीबार
संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरिएका चार जनाविरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको छ।
असोज २६ गते बसेको समितिको बैठकले प्रस्तावित न्यायाधीशविरुद्ध कात्तिक ९ गतेदेखि उजुरी दिन सकिने गरी १० दिनको समय निर्धारण गरेको हो। समितिका सचिव तुलबहादुर कँडेलका अनुसार उजुरी दिने समय कात्तिक १९ गतेसम्म रहनेछ।


समितिका सभापति बोधनारायण श्रेष्ठले न्याय परिषद्को पत्राचारअनुसार सुनुवाइ प्रक्रिया अघि बढाउँदै प्रस्तावित न्यायाधीशविरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरिएको जानकारी दिएका थिए।
उजुरी आह्वानको समयसीमा सकिएपछि संसदीय सुनुवाइ समितिले प्रस्तावित न्यायाधीशहरूको सुनुवाइ प्रक्रिया अघि बढाउनेछ। सुनुवाइ प्रक्रियापछि समितिले उनीहरूको नियुक्तिसम्बन्धी निर्णय लिनेछ।