२१ कार्तिक २०८३, शुक्रबार
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नारायणी नदीको कटानबाट चितवनको बजार क्षेत्र र स्थानीय बासिन्दाको सुरक्षा सुनिश्चित गर्न तत्काल तथा दीर्घकालीन योजना बनाएर अघि बढ्ने प्रतिबद्धता जनाएका छन्।
नारायणी नदी कटान प्रभावित क्षेत्रको स्थलगत निरीक्षणपछि उद्योग वाणिज्य सङ्घ चितवनमा आयोजित सरोकारवालासँगको छलफलमा उनले नागरिकको ज्यान, बजारको अस्तित्व, ऐतिहासिक महत्त्व र व्यवसायीको सम्पत्ति संरक्षण सरकारको पहिलो प्राथमिकता हुनुपर्ने बताए।


बजार क्षेत्रमा देखिएको जोखिमबारे उद्योग वाणिज्य सङ्घले जानकारी गराएलगत्तै आफूले सम्बन्धित निकायलाई खबर गरेको र आवश्यक अध्ययन तथा योजना निर्माणका लागि टोली परिचालन गरेको उनले जानकारी दिए। उक्त टोलीले काम अघि बढाइसकेको उल्लेख गर्दै अध्ययनबाट पहिचान भएका समस्या समाधानका लागि निरन्तर पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।
लामिछानेले तत्काल गर्नुपर्ने काम र दीर्घकालीन समाधानका उपायलाई सँगसँगै अघि बढाउनुपर्नेमा जोड दिए। प्राविधिक अध्ययनले आवश्यक देखाए भविष्यमा बजार क्षेत्र नै स्थानान्तरण गर्नुपर्ने अवस्था आउन सक्ने भन्दै त्यस्तो निर्णय सबै सरोकारवालाको सहमतिमा मात्रै गरिने स्पष्ट पारे।
“जनता जोगाउनका लागि बजेट दोस्रो कुरा हो। जनतालाई कसरी जोगाउन सकिन्छ भन्ने पहिलो प्राथमिकता हो”, उनले भने, “नागरिकको जिउ, बजारको इतिहास र त्यहाँका व्यवसायीको सम्पत्ति जोगाउन तत्काल के गर्न सकिन्छ र दीर्घकालीन रूपमा के गर्नुपर्छ भन्ने विषयमा स्पष्ट योजना आवश्यक छ।”
आफ्नो निर्वाचन क्षेत्र भएकै कारण चितवनलाई विशेष प्राथमिकता दिनुपर्ने मान्यता नराखेको स्पष्ट पार्दै उनले देशका सबै प्रभावित क्षेत्रको आवश्यकताका आधारमा राज्यले स्रोतसाधन परिचालन गर्नुपर्ने बताए। कर्णाली, सुदूरपश्चिम र मधेसलगायतका क्षेत्रमा बाढीबाट प्रभावित नागरिकका समस्या पनि उत्तिकै महत्त्वपूर्ण रहेको उनको भनाइ थियो।
चितवनको समस्या पनि अन्य प्रभावित क्षेत्रसरह आवश्यकताका आधारमा सम्बोधन गरिने बताउँदै उनले तत्काल गर्नुपर्ने कामको अध्ययन लगभग तयार भइसकेको जानकारी दिए। अध्ययनबाट पहिचान भएका योजनाका लागि स्रोत सुनिश्चित गर्न पहल गर्ने प्रतिबद्धता जनाउँदै उनले सरोकारवालालाई आश्वस्त रहन आग्रह गरे।
छलफलमा उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष चिरञ्जीवी सुवेदीले नारायणी नदी कटानको समस्यालाई गम्भीरतापूर्वक लिएर लामिछानेले सुरुदेखि नै समाधानका लागि पहल गर्दै आएको बताए। उनले नदी कटानको दीर्घकालीन समाधान हुने गरी प्रभावकारी योजना बनाउन आग्रह गरे।
यसअघि सभापति लामिछानेले नारायणी नदीले कटान गरेको प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरेका थिए।