महिला टी-ट्वान्टी स्म्यास: नेपालले युएईको सामना गर्दै

होमल्याण्ड खबर

२०७५ पुष ३० गते, सोमबार १२:५५ मा प्रकाशित

थाइल्याण्डमा जारी महिला टी-ट्वान्टी स्म्यासको तेस्रो खेलमा आज नेपाल संयुक्त अरब इमिरेट्स ‘युएइ’ विरुद्ध खेल्दैछ ।

अहिले सवा बाह्र बजे एयिशन इष्टिच्युट अफ टेक्लोलोजीको मैदानमा सुरु हुने खेलमा विजयी यात्रालाई कायम राख्ने लक्ष्यका साथ नेपाली राष्ट्रिय महिला क्रिकेट टोली लागिरहेको छ ।

यसअघि पहिलो खेलमा चीनलाई १० विकेट र मलेशियालाई ६ विकेटले पराजित गरेको नेपाल सहज जितको लक्ष्यसहित युएईविरुद्ध खेल्न लागेको छ ।

युएईले यसअघि आयोजक थाइल्याण्डको ‘ए’ टोलीमाथि ६१ रनको जित निकालेको थियो । नेपालले आज जित निकाले एक खेल अगावै सेमिफाइनल पुग्नेछ ।

नेपालले युएईपछि अन्तिम खेलमा बुधबार आयोजक थाइल्याण्ड ‘ए’ सँग खेल्नेछ ।

फागुनमा हुने आईसीसी महिला ट्वान्टी–२० विश्वकप छनोटको तयारीको लागि थाइल्याण्डले यो प्रतियोगिता आयोजना गरेको हो ।