लिग चरणमा विराटनगरको सतप्रतिशत जित, भैरहवा पनि अघिल्लो चरणमा

होमल्याण्ड खबर

२०७४ पुष १० गते, सोमबार १०:५२ मा प्रकाशित

खेलकुद लिग चरणमा विराटनगरको सतप्रतिशत जित, भैरहवा पनि अघिल्लो चरणमा  विराटनगर वारियर्सले सतप्रतिशत नतिजा सहित काठमाडौंमा जारी एभरेष्ट प्रेमियरलिग क्रिकेट इपीएलको प्लेअफमा स्थान बनाउँदा भैरहवा ग्लाडिएइटर्स पनि अघिल्लो चरण प्रवेश गरेको छ ।

लिग चरणको आफ्नो अन्तिम खेलमा आज काठमाडौ किङ्स एलेभेनलाई ८ रनले पराजित गर्दै विराटनगर समुह विजेता बन्दै प्लेअफमा प्रवेश गरेको हो । विराटनगरले ५ खेलबाट १० अंक जोड्यो । समान खेलबाट २ अंकमात्र जोड्न सफल काठमाडौंको अघिल्लो चरण प्रवेशको सम्भावना भने गणितीय हिसाबमा मात्र बाँकी छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा १ सय ४८ रनको लक्ष्य पछ्याएको काठमाडौंले निर्धारित ओभरमा ९ विकेट गुमाएर १ सय ३९ रनमात्र जोड्न सक्यो ।

क्याप्टेन फरविन महरुफले ४२ र नरेश बुढाऐरले ३० रन जोड्नु बाहेक अन्यको प्रदर्शन उल्लेख्य हुन सकेन । विराटनगरलाई कम स्कोरमै रोक्ने क्रममा अन्सुमन रथले ३ तथा बसन्त रेग्मी र रामनरेश गिरीले समान २ विकेट लिए ।  यसअघि बाबर हायातले ५० बलमा ६७ रन जोडेपछि पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित ओभरमा ७ विकेट गुमाएर १ सय ४७ रन बनाएको थियो । अन्सुमन रथ ३२ र क्याप्टेन पारस खड्का २६ रनमा आउट भए ।

सोमपाल कामी र अमर राउटेलाले समान २ विकेट लिएपनि विराटनगरको अपराजित यात्रामा पूर्ण बिराम लगाउन भने सकेनन् ।   यसैबीच, पोखरा राईनोजलाई ७ विकेटले पराजित गर्दै भैरहवाले पनि अघिल्लो चरणमा स्थान बनाएको छ ।

४ खेलबाट ६ अंक जोडेको भैरहवा दोस्रो स्थानमा छ भने समान खेलबाट ४ अंक भएको पोखरा तेस्रो स्थानमा झरेको छ । भोलि हुने लिग चरणको अन्तिम खेलमा पोखराले ललितपुर प्याट्रिएट्स र भैरहवाले चितवन टाईगर्ससँग प्रतिस्पर्धा गर्नेछ ।  पोखराले दिएको १ सय ९ रनको लक्ष्य भैरहवाले १४ बल बाँकी छँदा ३ विकेट गुमाएर भेट्टायो । क्याप्टेन शरद भेषावकर र आरिफ शेखले चौंथो विकेटका लागि ७४ रनको साझेदारी गरेपछि भैरहवा प्लेअफमा स्थान बनाउन सफल भयो । शेख ४८ र भेषावकर ३२ रनमा नटआउट रहे । प्रथम सालुङ्केले २५ रनको योगदान गरे ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पोखरा १८ ओभर ३ बलमा १ सय ८ रनमा समेटिएको हो । बिनोद भण्डारी र शुसन भारी गोल्डेन डक आउट भएको पोखराको इनिङ्समा ७ जना ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् । इष्रुल्लाहले ४१ रन बनाउँदा सुनील धमला १५ र आसिफ अली १० रनमा आउट भए । पोखरालाई सस्तैमा समेट्न क्याप्टेन शरद भेषावकर, कृष्ण कार्की र दिपेश श्रेष्ठले समान २ विकेट लिए ।