चिसोका कारण डा. केसीको स्वास्थ्यमा समस्या

होमल्याण्ड खबर

२०७५ माघ २ गते, बुधबार १३:५२ मा प्रकाशित

चिकित्सा शिक्षा सुधारका विभिन्न माग राखेर गएको गएको बुधबारदेखि इलाममा १६ औं चरणको अनशनमा बसिरहेका डा. गोविन्द केसीको मुटुको चाल गडबड रहेको उनको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । उनको उपचारमा संलग्न डा विजेन्द्र शाहले बुधबार बिहान भने, ‘‘उहाँको मुटुको चाल थपघट भइरहेको छ । यस्तो बेलामा कुन बेला के हुन्छ भन्न सकिँदैन । तर, उहाँले हिजो बेलुका एन्टिबायोटिक भने लिनुभएको छ । त्यसैले अन्य अवस्था भने हिजोको जस्तै छ ।’’

डा. शाहले मुटुको धड्कनमा रहेको समस्याका कारण डा. केसीलाई आईसीयूमा राखेर थप उपचार गर्नुपर्ने अवस्था रहेपनि इलाममा सो सुविधा नरहेकाले अप्ठेरो भएको बताए । डा. केसीको पाको उमेर र चिसोका कारण पनि समस्या भइरहेको उनले जनाए ।

१५ औं अनशनका क्रममा भएको सहमतिअनुसार संसदको शिक्षा तथा स्वास्थ्य समितिले चिकित्सा शिक्षा विधेयक पारित नगरेको भन्दै केसी अनशन बसेका हुन् । डा. केसीले १५ औँ अनशन जुम्लामा गरेका थिए । माग पूरा नभएसम्म जुम्लामै अनशन बस्ने अडानविपरीत सरकारले बल प्रयोग गरेर २० औं दिनमा केसीलाई काठमाडौं ल्याएको थियो । डा. केसीलाई काठमाडौं ल्याउन स्थानीयले अवरोध गरेपछि प्रहरीले अस्पतालभित्रै लाठी चार्ज र अश्रुग्यास प्रहारसमेत गरेको थियो । अस्पताल र स्थानीय जनताको क्षति हुने देखेपछि केसी काठमाडौं आउन तयार भएका थिए । आशयपत्र दिइसकेका मेडिकल कलेजहरुलाई काठमाडौँ उपत्यकाबाट बाहिर जान प्रोत्साहित गर्ने र जान नचाहे आपसी सहमतिमा सरकारले किन्न सक्ने डा. केसीसँग सरकारले सहमति गरेपछि गत साउन १० गते २७ दिने लामो अनशन उनले तोडेका थिए ।