१२ मंसिर २०८१, बुधबार
काभ्रेको पाँचखालका किसानले सडकमै तरकारी फालेर इँटाभट्टाको विरोध गरेका छन् । आफूहरूले लगाएको तरकारी बिक्री हुन छाडेको भन्दै किसानले सडकमै फालेर विरोध गरेका हुन् । इँटाभट्टाबाट निस्कने धुवाँले वरिपरिका बस्तीमा प्रदूषण बढाउनुका साथै खेतबारीमा लगाएको तरकारीबालीमा समेत असर गरेको भन्दै उनीहरूले भट्टा बन्द गर्नुपर्ने माग गर्दै तरकारी धुलिखेलको सडकमा फालेका हुन् ।
इँटा भट्टाबाट निस्किएको कार्बनका कारण किसानको तरकारी कालिमाटी बजारबाट फिर्ता आउन थालेपछि सोमबार किसानले धुलिखेलमा तरकारी फालेर विरोध गरेका थिए । कालो धुवाँका कारण धेरै किसानको तरकारी बजारमा बिक्री हुन छोडेपछि किसान आन्दोलित हुनुपरेको पाँचखाल उपत्यका वातावरण जोगाऔं अभियानका संयोजक सूर्यबहादुर भेटवालले जानकारी दिए । वातावरणलाई असर गर्ने इँटा उद्योग र प्लाई उद्योग तत्काल हटाई जनताको बाँच्न पाउने अधिकार सुरक्षित गर्न किसानको हस्ताक्षरसहित नगरमा पत्रसमेत बुझाइएको छ ।
भट्टाबाट निस्कने धुवाँका कारण सुतेका बेला राति सास फेर्न गाह्रो हुने, बिहान हुस्सु लागेको जस्तो आकाश नै डम्म बादलले ढोकेको जस्तो हुने, बारीमा लगाइएका फलफूल, तरकारीमा असर परेको स्थानीयको भनाइ छ । पाँचखालमा रहेका इँटाभट्टालाई नगरले मापदण्डअनुसार सञ्चालन गर्न पटक–पटक आग्रह गरे पनि व्यवसायीले पेलेर भट्टा सञ्चालन गरिरहेका छन् । पटक पटक किसान आन्दोलित भएपछि पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले भट्टाहरूलाई पत्र नै लेखेका थिए । नगरपालिकाको पत्रको वेवास्ता गरेर उद्योगीले इँटा पार्ने र पोल्ने क्रममा बिहीबार पाँचखाल नगरपालिका–७ मा रहेको जय वीर हनुमान इँटाभट्टाको डग भत्कँदा १० महिनाका निर्माण परियार र ३ वर्षकी जेनिसा परियारको मृत्यु भएको थियो भने बर्ष ३ का बाबुराम घर्ती र ३५ वर्षीया सितादेवी पासवान गम्भीर घाइते भएका थिए ।
पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले भर्खरै वातावरण ऐन पास गरेको र राजपत्रमा प्रकाशित हुने वित्तिकै त्यही ऐनअनुसार अगाडी बढ्ने जानकारी दिए । ऐनअनुसार भट्टाहरू मापदण्डमा परेनन् भने विकल्प खोज्नुपर्ने नगर प्रमुख खरेलको भनाइ छ ।