नेपाल भारतसँग ऊर्जा क्षेत्रमा सहकार्य गर्न थप इच्छुक छ : मन्त्री वर्षमान पुन

होमल्याण्ड खबर

२०७५ माघ ९ गते, बुधबार १३:५० मा प्रकाशित

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेपाल भारतसँग ऊर्जा क्षेत्रमा सहकार्य गर्न थप इच्छुक रहेको बताएका छन् ।

बुधबारदेखि पोखरामा हुने दुवै देशका ऊर्जा तथा जलस्रोत सचिवस्तरीय छैटौं संयुक्त कार्यकारिणी समिति (जेएससी) बैठकमा सहभागी हुन नेपाल आएर मंगलबार मन्त्रालय पुगेका भारतीय विधुत् मन्त्रालयका सचिव अजय भल्लासँगको भेटमा मन्त्रीले सो कुरा बताएका हुन् । भेटमा मन्त्री पुनले नेपाल–भारतसम्बन्ध ऐतिहासिक रहेको भन्दै आगामी दिनमा पनि दुई देशको सम्बन्ध अझै मजबुत हुने विश्वास व्यक्त गरे ।

मन्त्री पुनले सरकारले बूढीगण्डकी र दूधकोसीजस्ता ठुला जलाशययुक्त आयोजना बनाउन लागेको भन्दै त्यसले भारतको बाढी नियन्त्रण, सिँचाइ र खानेपानीका लागि सहयोग पुग्ने धारणा राख्दै तल्लो तटीय लाभका बारेमा भारतसँग छलफल गर्ने नेपालको चाहना रहेको बताए । उनले भारत सरकारले संशोधन गरेको अन्तरदेशीय विधुत् व्यापार निर्दे्शिकाले नेपालको विधुत् व्यापारका लागि फाइदा पु¥याएको भन्दै त्यसका लागि सचिव भल्लालाई धन्यावादसमेत दिएका थिए ।

मन्त्री पुनले नेपालमा हाल दुई तिहाइ बहुमतसहितको स्थायी सरकार रहेको भन्दै नेपालको ऊर्जा क्षेत्रमा लगानीका लागि वातावरण बनाइदिन आग्रह गर्दै भारतीय लगानीकर्तामा समेत सो सूचना प्रवाह गर्न आग्रह गरेका थिए ।

मन्त्री पुनसँगको भेटमा सचिव भल्लाले अरुण तेस्रो परियोजनामा भइरहेको प्रगतिबारे जानकारी गराउनुका साथै सचिवस्तरीय बैठकका एजेन्डाबारे समेत अवगत गराएका थिए ।