शहीद शुक्रराज शास्त्रीको पूर्णकदको सालिक अनावरण

होमल्याण्ड खबर

२०७५ माघ १० गते, बिहीबार १२:५३ मा प्रकाशित

शहीद सप्ताहको पहिलो दिन बिहीबार काठमाडौंको टेकु मचलीस्थित खरिबोटमा शुक्रराज शास्त्रीलाई मृत्युदण्ड दिइएको स्थानमा उनको पूर्ण कदको शालिक अनावरण गरिएको छ ।

खरिबोटमुनि आयोजना गरिएको श्रद्धाञ्जली सभामा कार्यबाहक प्रधानमन्त्री ईश्वर पोखरेल र महानगरका प्रमुख विद्यासुन्दर शाक्यले संयुक्त रूपमा शालिकको अनावरण गरेका हुन् ।

शास्त्रीको शालिकलाई महेश तुलाधरले ४ महिना समय लगाएर तयार पारेका हुन् ।

महानगरको वडा १२ ले १० लाख खर्च गरेर पित्तलको साढे ५ फिट अग्लो पूर्ण कदको शालिक निर्माण गराएको हो ।

वि.सं. १९५० सालमा बनासरमा जन्मेका शास्त्रीलाई धार्मिक गतिविधिमार्फत् जहानियाँ शासनविरूद्ध जागरण अभियानमा सक्रिय भएको भन्दै वि.सं. १९९७ साल माघ १० गते राति १२ बजे झुण्ड्याएर हत्या गरिएको थियो ।