९ मंसिर २०८१, आईतवार
एजेन्सीः घरेलु टोली युएईलाई पराजित गर्दै कतार एसिया कप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
मंगलबार मोहमद बिन जायद स्टेडियममा भएको दोस्रो सेमिफाइनलमा युएईलाई ४-० गोल अन्तरले पराजित गर्दै कतार फाइनलमा पुगेको हो ।
कतारलाई जित दिलाउन बोउलम खोउखी, अल्मोइज अली, हसन अल हेदोस र हामिद स्माइलले एक एक गोल गरे ।
खेलको २२ औं मिनेटमा खोउखीले गोल गर्दै कतारलाई सुरुवाती अग्रता दिलाए भने ३७ औं मिनेटमा अलीले गोल गरेपछि कतार पहिलो हाफमा २-० ले अघि रह्यो ।
खेलको ८० औं मिनेटमा हसनले गोल गर्दै कतारको अग्रता ३-० को बनाए । खेलको ९० औं मिनेटमा इस्माइल अहमदले रातो कार्ड पाएपछि युएई १० खेलाडीमा समेटियो ।
त्यसपछि खेलको इन्जुरी समयमा हामिदले गोल गर्दै कतारलाई ४-० को जित दिलाए ।
अब कतारले उपाधिका लागि जापान खेल्ने छ ।