भारतीय इँटाभट्टाले नेपालमा प्रदूषण

होमल्याण्ड खबर

२०७५ माघ १७ गते, बिहीबार १३:४५ मा प्रकाशित

वातावरण विभागले भारतको इँटाभट्टाका कारण नेपालमा प्रदूषण बढेको भन्दै समयमा नै समाधानको पहल थाल्न आवश्यक रहेको बताएको छ । विभागका अनुसार भारतमा सञ्चालन भइरहेको परम्परागत इँटाभट्टाका कारण नेपालमा प्रदूषण गराएको हो ।

वातावरणविद्का अनुसार पुराना इँटाभट्टाबाट निस्कने कालो धुँवाले बढी प्रदूषण गराउँछ । वातावरण विभागका अनुसार उत्तर प्रदेशको बिहारमा १० हजारभन्दा बढी इँटाभट्टा छन् । उक्त इँटाभट्टाबाट निस्कने कालो धुवा हावासँग बहँदै नेपाल छिर्ने र तिनै इँटाभट्टाको धुवा नेपाल प्रवेश गरेसँगै प्रदूषण पनि बढाइरहेको छ । विभागका महानिर्देशक झलकराम अधिकारीले भारतको उत्तर प्रदेशको बिहारबाट आएको धुँवाका कारण लुम्बिनी सबैभन्दा बढी प्रदूषित भएको बताए ।

“लुम्बिनीमा १६ वटा इँटाभट्टा छन्, ती इँटाभट्टाले पनि प्रदूषण गराइरहेका छन्, तर लुम्बिनीमा मुख्य प्रदूषणको कारण भनेको इन्डियाबाट बगेर आउने हावा नै हो,” उनी भन्छन्, “ति इँटाभट्टाका कारणले गर्दा लुम्बिनी नेपालको सबैभन्दा बढी प्रदूषण हुने सहरमा परेको छ । एकातर्फ बाहिरबाट आउने प्रदूषणको प्रभाव, लुम्बिनी हुँदै चितवन र काठमाडौं प्रवेश गर्छ । अर्कोतर्फ जाडोको समयमा पराल बाल्ने तथा बाहिर आगो बाल्ने चलन छ । यसले पनि प्रदूषण गराइरहेको छ ।”
अधिकारीले इटाँभट्टाबाट प्रदूषण कम गर्नका लागि इँटभट्टा पनि अब नयाँ प्रविधिमा जानुपर्ने बताए । इँटाभट्टाबाट निस्कने धुँवाको मापदण्ड बढेको उनको भनाइ छ ।

“इँटाभट्टा मापदण्डमा त छन्, तर ति मापदण्ड घटाउनुपर्छ । सरकारी स्तरबाट नै भारतका इँटाभट्टा प्रविधियुक्त बनाउनका लागि पहल गरिनुपर्छ,” अधिकारीले भने, “पराम्परागत शैलीका इँटाभट्टाबाट धेरै प्रदूषण हुन्छ, यसकारण नयाँ प्रविधियुक्त प्रविधि जडान गर्न आवश्यक छ ।” कारोबार दैनिकबाट साभार ।