न्युजिल्यान्डविरुद्ध भारत ३५ रनले विजयी

होमल्याण्ड खबर

२०७५ माघ २० गते, आईतवार १६:५६ मा प्रकाशित

एजेन्सी । अम्बती रायडुको ९० रनप्रेरित भारत आइतबार न्युजिल्यान्डविरुद्धको पाँचौं एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ३५ रनले विजयी भएको छ । यससँगै पाँच खेलको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलामा भारतले ४–१ ले जितेको छ ।

अग्रपंक्तिका ब्याट्सम्यान छिट्टै पवेलियन फर्किएको अवस्थामा रायडुले ९० रन बनाएपछि वेलिङ्टनस्थित वेष्टप्याक रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको भारतले ४९.५ ओभरमा सबै विकेट गुमाएर २ सय ५२ रन बनाएको थियो । २ सय ५३ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले ४४.१ ओभरमा सबै विकेट गुमाएर २ सय १७ रनमात्र जोड्न सक्यो ।

शुरुमै ४ विकेट गुमाएको भारतको इनिङ रायडु र विजय शंकरले उकासेका थिए । दुईले पाँचौं विकेटका लागि ९८ रनको साझेदारी गरेका थिए । शंकरले ६४ बलमा ४ चौकासहित ४५ रन जोडे । त्यसपछि रायडुले केदार जधवसँग छैटौं विकेटका लागि ७४ रनको साझेदारी गरेका थिए । १ सय १३ बलमा ८ चौका र ४ छक्का हानेका रायडु शतक बनाउनबाट १० रनले चुके । जधवले ३४ रन बनाउँदा हार्दिक पाण्डेयले ४५ रन जोडे ।

न्युजिल्यान्डका म्याट हेनरीले ४ विकेट लिँदा टे«न्ट बोल्डले ३ विकेट लिए । जेम्स नीशमको नाममा १ विकेट रह्यो ।
न्युजिल्यान्डका नीशमले ब्याटिङमा भने ४४ रन बनाएका थिए । न्युजिल्यान्डको इनिङमा बनेको यो नै सबैभन्दा ठुलो स्कोर हो । कप्तान केन विलियम्सनले ३९, टोम लाथमले ३७, कोलिन

मुनरोले २४ र मिचेल सन्टनरले २२ रन बनाए ।
भारतका युजभेन्द्र चाहलले ३ विकेट लिँदा मोहम्मद शामी र हार्दिक पाण्डेयले समान २–२ विकेट लिए । भुवनेश्वर कुमार र केदार जधवको नाममा १–१ विकेट रह्यो ।