९ मंसिर २०८१, आईतवार
एजेन्सी । सर्जियो अग्विरोको ह्याट्रिकप्रेरित म्यानचेष्टर सिटीले आइतबार राति आर्सनललाई ३-१ ले हराउँदै इङलिस प्रिमियर लिगको शिर्ष क्लब लिभरपुलसंगको दुरि २ अंकमा घटाएको छ ।
घरेलु मैदान इत्तिहाद रंगशालामा एक मिनेट बित्न नपाउदै अग्विरोले सिटीलाई अग्रता दिएका थिए । ११औं मिनेटमा आर्सनलका कोसेल्नी लौरेन्टले बराबरी गोल फर्काए । ४४औं मिनेटमा अग्विरोले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई पुनः अग्रता दिए । ६१औं मिनेटमा अग्विरोले ह्याट्रिक पुरा गरे । सिटीका लागि अग्विरोको यो १४औं ह्याट्रिक हो ।
जितसंगै सिटीले लिभरपुलसंगको दुरी २ अंकमा छोट्याउदै उपाधि होड कायमै राखेको छ । तथापि लिभरपुलले एक खेल कम खेलेको छ । २५ खेलबाट सिटीको ५९ अंक छ भने लिभरपुल ६१ अंकका साथ शिर्ष स्थानमा छ । लिभरपुलले सोमबार राति वेस्ट ह्याम युनाइटेडको भ्रमण गर्नेछ । आर्सनलले छैटौं स्थानमा झरेको छ । लन्डन क्लब आर्सनलको ४७ अंक छ । ४८ अंकका साथ म्यानचेष्टर युनाइटेड पाँचौं स्थानमा छ । चौथो स्थानमा रहेको चेल्सीको ५० अंक छ । तेस्रो स्थानमा रहेको टोटेनह्यामले ५७ अंक जोडेको छ ।
सिटी बुधबार राति न्युक्यासल युनाइटेडसंग २-१ ले पराजित भएको थियो । तर आइतबार अग्विरोले ह्याटि्रक गरेपछि पेप ग्वार्डिओलाको टोलीले सहज जित निकाल्न सफल भयो ।