२९ फाल्गुन २०८२, शुक्रबार
झापाको बिर्तामोडमा चिकित्सकको लापबाहीका कारण बिरामीको मृत्यु भएको भन्दै विर्तासिटी अस्पतालमा तोडफोड भएको छ ।
चिकित्सकको लापरबाहीका कारण मेचीनगरका २ वर्षीय बालकको मृत्यु भएको भन्दै आक्रोशित परिवारले अस्पताल तोडफोड गरेका हुन् ।


झाडापखाला लागेपछि उपचारका लागि ल्याइएका उमंग राजवंशीका २ वर्षीय छोरा जेनिस राजवंशीको मृत्यु भएको थियो । बालकलाई पखाला लागेपछि उपचार गर्नका लागि अस्पताल लगिएको आफन्तले बताएका छन् । तर, लापरबाहीका कारण ज्यान गएको भन्दै आफन्तले राति नै ढुंगामुढा गरेका थिए ।
तोडफोडका कारण अस्पतालको झ्याल, ढोका र आकस्मिक कक्षमा क्षति भएको छ ।
आक्रोशित भीड नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो ।
अस्पताल प्रशासन र मृतक बच्चाका आफन्त, जनप्रतिनिधि, प्रहरीसहितको छलफलका क्रममा मेची अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. पिताम्बर ठाकुरको संयोजकत्वमा छानविन समिति गठन गरिएको छ ।
टोलीले १० दिनभित्र जिल्ला प्रशासन कार्यालयमा छानबिन प्रतिवेदन बुझाउनु पर्नेछ ।
जसको आधारमा दोषीलाई कारबाही र पीडितलाई क्षतिपूर्तीको व्यवस्था गर्ने निर्णय भएको जनाइएको छ ।
मृतकको शवलाई पोष्टमार्टमका लागि धरानस्थित बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ ।