टी ट्वान्टी वरीयतामा नेपाल १४ औं स्थानमा, ओडिआईमा खेलाडी परेनन्

होमल्याण्ड खबर

२०७५ माघ २२ गते, मंगलवार १०:३७ मा प्रकाशित

यूएईसँगको तीन टी ट्वान्टी खेलको शृंखला खेलेपछि पहिलो पटक अन्तराष्ट्रिय क्रिकेट परिषद आईसीसी को टी्ट्वान्टी क्रिकेटको वरीयतामा समावेश भएको छ ।
आइतबार सम्पन्न टी ट्वान्टी शृंखला नेपालले २–१ को जित निकालेपछि नेपाल आईसीसीको वरियतामा परेको हो ।

आइतबार भएको तेस्रो तथा अन्तिम टी–ट्वान्टीमा युएईलाई १४ रनले हराउँदै नेपालले पहिलो पटक टी–ट्वान्टी क्रिकेट शृंखला जितेको थियो ।

युएईविरुद्धको शृंखला जितपछि नेपालले वरीयताको १४ औं स्थान हासिल गरेको छ । नेपालले १३ खेलबाट १२३ अंक पाएको छ । युएई १५ औं स्थानमा छ । युएईविरुद्धको एकदिवसीय शृंखला पनि जितेको नेपाल एकदिवसीय वरीयतामा भने १५ औं स्थानमा छ ।

टी–ट्वान्टी वरियताको शीर्ष स्थानमा अष्ट्रेलिया दोस्रोमा इंग्ल्यान्ड र तेस्रो स्थानमा न्युजिल्याण्ड रहेका छन्  । चौथोमा भारत र पाँचौ स्थानमा वेष्ट इण्डिज रहेको छ ।
उता नेपाल ओडिआई टीम वरीयतामा समावेस हुँदा कुनै पनि खेलाडी भने आईसीसीको १०० वरीयतामा अटाएनन् । टी ट्वान्टीतर्फ भने कप्तान पारस खड्का ब्याटिंगमा ९६ औं नम्बरमा र अलराउण्डमा ४२ औं नम्बरमा छन् । यस्तै बलिंग तर्फ अफ स्पीनर बसन्त रेग्मी ७४ औं स्थानमा र सोमपाल कामी ९३ औं स्थानमा छन् । यस्तै सोमपाल अलराउडरतर्फ ६४ औं स्थानमा छन् ।