रानीपोखरी पुनर्निर्माणको जिम्मा प्राधिकरणलाई

होमल्याण्ड खबर

२०७५ माघ २२ गते, मंगलवार १४:२९ मा प्रकाशित

सरकारले रानीपोखरी पुनर्निर्माणको जिम्मेवारी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई दिएको छ । माघ १४ गतेको मन्त्रिपरिषद्को बैठकले रानीपोखरी र बालगोपालेश्वर मन्दिरलगायत सो क्षेत्रमा रहेका पुरातात्विक संरचनाको पुनर्निर्माणसम्बन्धी सम्पूर्ण कार्य प्राधिकरणले गर्ने गरी जिम्मेवारी दिने निर्णय गरेको हो ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुरातत्व विभाग, काठमाडौं महानगरपालिका, विज्ञ, सरोकारवाला संघसंस्था, स्थानीय समुदाय लगायतसँगको परामर्श र समन्वयमा प्रताप मल्लकालीन शैली, प्रविधि र निर्माण सामग्रीको प्रयोग गरी पुनर्निर्माण गर्ने बताए । “परम्परागत शैली र मौलिकतालाई विशेष ध्यान दिई पुनर्निर्माण कार्यलाई तत्काल अघि बढाइनेछ,” उनले भने ।

रानीपोखरीमा रहेको बालगोपालेश्वर मन्दिरको पुनर्निर्माण गुम्बज शैलीमा गर्ने कि ग्रन्थकुटरशिखर शैलीमा गर्ने भन्ने विवाद थियो । विज्ञहरूले दिएको सुझावका आधारमा प्राधिकरणले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पुरातत्व विभाग एवं काठमाडौं महानगरपालिका लगायतसँग समन्वय तथा सहजीकरण गरी ग्रन्थकुटरशिखर शैलीमा पुनर्निर्माण गर्ने निर्णय गरिसकेको छ ।

प्राधिकरणले भूगर्भिवद्बाट रानीपोखरीमा पानी कसरी जम्मा गर्न सकिन्छ र कसरी अड्याउन सकिन्छ भन्ने अध्ययन गराएको थियो । विज्ञहरूले तीन सय फिट तलबाट पानी निकाल्न सकिने र कालिमाटीको प्रयोग गरी पानी अड्याउन सकिने प्रतिवेदन दिएका छन् । “हामीले रानीपोखरीको वरिपरिको भाग पनि प्रताप मल्लकालीन शैलीमा पुनर्निर्माण गर्नेछौं,” प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले भने ।