९ मंसिर २०८१, आईतवार
अर्थमन्त्री डा युवराज खतिवडाले एकीकृत योजना अनुसार सडक लगायत सम्पूर्ण पूर्वाधार विकासका योजना अघि बढाउनुपर्ने बताएका छन्। व्यवस्थापन संघ नेपालले मंगलबार राजधानीमा गरेको राष्ट्रिय व्यवस्थापन सम्मेलनको उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले झुण्ड झुण्ड रणनीति बनाएर पूर्वाधार विकास गर्न नसकिने बताएका हुन्। उनले सम्पूर्ण सार्वजनिक यातायात सरल, सहज र सुरक्षित बनाउने हो भने एकीकृत ढंगको यातायात पूर्वाधारको विषयमा सोच्नुपर्ने बताए।
उनले सडक, रेल, पानी जहाज देखि सम्पूर्ण यातायातका साधनस्रोतका संरचनालाई लागत प्रभावी, वातावरणमैत्री, पूर्ण क्षमतामा उपभोग गर्न सकिने र मर्मतसंभार तथा संञ्चालनको खर्च व्यवस्थापनसँगै सरोकारित संस्थाको भूमिका लगायत विषयलाई एकीकृत रुपमा योजना बनाई दीर्घकालिन सोच अनुसार कार्यान्वयन गरिनुपर्नेमा जोड दिए।
अर्थमन्त्री खतिवडाले व्यवस्थापन संघ आफैमा व्यवसायिक र महत्वपूर्ण रहेको भन्दै व्यवसायिक कार्यमा सहकार्य र सहयोग गर्न सरकार सधैं तयार रहेको बताए। उनले युवाहरुलाई व्यवस्थापनको साथै नेतृत्वमा ल्याउने गरी काम गर्न सुझाव दिए। कार्यक्रममा सहभागीहरुले एकीकृत योजना विना सडक लगायतका पूर्वाधार निर्माणका काम नगर्न सुझाव दिएका थिए।