१० मंसिर २०८१, सोमबार
नेपाली महिला राष्ट्रिय फुटबल टोली हिरो गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । भारतको भुवनेश्वरमा जारी प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा ईरानमाथि ३–० को शानदार जितसहित नेपाल फाइनलमा पुगेको हो ।
समूहको अन्तिम अर्को खेलमा म्यानमारले भारतलाई २–० ले पराजित गरेसँगै नेपाल र म्यानमारको उपाधि भिडन्त तय भएको हो ।
समूह चरणको दोस्रो खेलमा भारतलाई २–१ ले पराजित गरेपछि नेपाल फाइनल पुग्ने सम्भावना बढेको थियो । म्यानमारले अन्तिम खेलमा भारतलाई पराजित गरेपछि नेपाल समूह उपविजेताको रुपमा फाइनल पुगेको हो ।
समूह चरणमा म्यानमारले ३ खेलमा ३ जित दर्ता गर्दै समूह विजेताको रुपमा फाइनलमा स्थान बनायो । नेपालले ३ खेलमा २ जित र १ हारसहित ६ अंक जोडेर उपविजेता बन्यो ।
भारत ३ खेलमा १ जित र २ हार सहित ३ अंक जोड्दै प्रतियोगिताबाट बाहिरिंदा अंकविहिन इरान अंक तालिकाको पुछारमा रहयो ।
नेपाल र म्यानमारले अब शुक्रबार उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । नेपालले प्रतियोगिताको पहिलो खेलमा म्यानमारसँग ३–० को हार बेहोरेको थियो ।
साफ च्याम्पियनसिपको तयारीका लागि हिरो गोल्डकप फुटबलमा भाग लिएको नेपालले आकर्षक प्रदर्शन गरेसंगै घरेलु मैदानमा हुने साफ पनि जित्ने आत्मविश्वास बढ्दै गएको छ ।