९ मंसिर २०८१, आईतवार
नेवार समुदायले विशेष महत्वका साथ आज योमरी पुन्ही अर्थात् योमरी पूर्णिमा मनाउँदैछन् ।
नेपाल भाषामा ‘यो’ भनेको मनपर्ने र ‘मरी’ भनेको रोटी र मिठाइ हो । आजका दिन नेवार समुदायले योमरी पुन्हीमा तिल, चाकु र खुवा राखेर चामलको पिठोबाट बनाइएको विशेष प्रकारको परिकार योमरी खाने प्रसादका रुपमा खाने गर्दैछन् ।
काठमाडौं उपत्यकाका नेवार समुदायले धान्य पूर्णिमाको साँझ टोलटोलमा रमाइलो गर्दै केटाकेटी, युवायुवती जम्मा भई योमरी माग्ने चलन पनि छ । तिहारमा देउँसी/भैलो खेलेझै टोलटोलका घरघरमा युवायुवती गएर गीत गाउँदै योमरी माग्ने गर्ने प्रचलन रहेको छ । नेवारी गीत गाउँदै बच्चादेखि बूढापाकासम्म सहभागि भई योमरी माग्ने चलन छ ।
यो पर्वलाई प्रेम, दया र करुणको भावना आदान प्रदान गर्ने पर्वका रुपमा समेत लिइन्छ । इष्टमित्र, साथीभाइ, पाहुनालाई बाँडी खाने र खुवाउने परम्परा छ ।
योमरी विशेष प्रकारको चामलको पीठोबाट बनाएको रोटी खाने भएकाले यस दिनको नाम पनि योमरी पुन्ही रहेको पाइन्छ । योमरी पुन्हीका दिन गृहणीहरु शुद्ध भएर चामलको पीठो, चाकु, तिल, मासु, गुदपाक, खुवा राखी योमरी बनाई खाने चलन छ ।
पूर्णिमाका दिन योमरीलाई धानका भकारीलगायतमा चढाउने गरिन्छ । यसरी चढाएको योमरी चार दिनपछि मात्र प्रसादको रुपमा बाँडेर खाने चलन छ । योमरीलाई धानका भकारीलगायत अन्नका भण्डारमा चढाउँदा धनसम्पत्ति र अन्न लाभ हुने जनविश्वाश समेत छ ।
यस पुन्हीमा नेवारी समुदायले पहिलो धान भित्रयाएको भकारीमा त्यसमध्येकै केहि चामलको पिठोमा बनाइएको यःमरीबाट देवता पूजा गर्ने चलन भएकाले धान्यपूर्णिमा पनि भन्ने गरिएको छ । लक्ष्मी, गणेश, कुमार, कुवेरलगायतका देवी देवतालाई चढाएर मात्र खाने चलन छ ।
मल्लकालदेखि नै सुरु भएको यो चलन यस दिन कुनै पनि चीज दान गर्दा आफूलाई धेरै धर्म हुने मान्यताअनुसार योमरी लिने र दिने गरिन्छ । मंसिर पुसको जाडोमा तातोतातो योमरी दान गर्ने चलन समेत रहेको छ ।
योमरीलाई कुवेर र गणेशका प्रतिकका रुपमा समेत लिइन्छ ।
योमरी खानाले जाडो सहन सक्ने ऊर्जा र कफ नष्ट गर्ने शक्तिको विकास हुन्छ भन्ने मान्यता रहेको छ ।
योमरी चामलको पीठो मुछेर रोटीको माथिल्लो भाग गजुर जस्तै चुच्चो बनाई तल्लो भागको गर्भमा चाकु, मास, मुगी राखी त्रिकोण आकार गरी दुई किसिमबाट बनाई पानीको बाफमा पकाउने गरिन्छ ।