५ चैत्र २०८२, बिहीबार
घरमा १४ बर्ष मुनिका छोराछोरी र एक भान्जीलाई छाडेर पोखरा पुगेका बेला श्रेया (नाम परिवर्तन)लाई घर फर्किँदा झट्का लाग्यो । फोनमा त छोराछोरीकै नम्बरबाट फोन आएको थियो,‘तेरो छोरा, छोरी र भाञ्जी मेरो कब्जामा छ, तीन लाख दिए मात्र छाड्छु ।’
उनले पत्याइनन् । तर जब काठमाडौं फर्किन् उनको मनमा चिसो पस्यो । त्यसपछि प्रहरी गुहारिन् ।


प्रहरीले खोजीनीति गरी अपहरणकर्ता पत्तो लगाए । बानेश्वर बस्ने २४ बर्षिय आशिष सिजापति । आपतमा आर्थिक सहयोग गर्ने, आफ्ना छोराछोरीले मामा भनेर सम्बोधन गर्ने सिजापतीले अपहरण गरेको प्रहरीले पत्तो लगाउँदा पनि श्रेयालाई विश्वास गर्न धुकचुक भयो ।
आशिषले अरुबेला पनि उक्त कोठामा पुगी भान्जाभान्जी भन्थे । दिदी भन्थे, श्रेयालाई । उनले प्रहरीसँग भनेकी छन्,‘यस्तो गर्छ भन्ने कसरी पत्याउनु ?’
महानगरीय प्रहरी वृत्त, महाराजगञ्जले सोही सूचनाको आधारमा टोखा–९ मा छापा हान्यो । होटल ब्लू स्टारको कोठा नं. ४०४ मा खनतलासी गर्दा प्रहरीले तीन बालबालिका भेट्यो ।
कुरुवा थिए, विनोद थापा मगर । प्रहरीले पक्राउ गरेपछि घटनाको यथार्थ बयानमा खुल्न थाल्यो । आशिषले ममीले राख्नु भनेको छ भन्दै तीनै जनालाई घरबाट होटल पुर्याएको रहस्य पनि खुल्यो ।
यसक्रममा आशिष कहाँ छन् भन्ने खोजी भयो । उनी अर्को अपहरण प्रकरणका शिलशिलामा पक्राउ गरिसकिएको र हिरासतमा रहेको प्रहरी अनुसन्धानले खुलायो ।
बालबालिका अपहरण गरेको एकदिनपछि काठमाडौं टोखामा डेरा गरी बस्ने रामेछापका दोरम्बका २१ वर्षीय नरेश थापा मगरलाई अमलेखगञ्जमा अपहरण गरेका आशिष पक्राउ परिसकेका थिए ।
जिल्ला प्रहरी कार्यालय, मकवानपुरले चलाएको अपरेशनमा उनीसहित धादिङका किसन गुरुङ, आशिक लामा, कञ्चनपुरका सुनिता धामी र मकवानपुरका सरस्वती तामाङ नियन्त्रणमा लिइएको तथ्य प्रहरीले फेला पार्यो ।