युवा र बेरोजगारी

होमल्याण्ड खबर

२०७७ भाद्र २२ गते, सोमबार १८:१० मा प्रकाशित

पूजा बगाले /

बेरोजगारी एक त्यस्तो समस्या हो, जसमा एक व्यक्तिका लागि ठूलो आर्थिक क्षति हो, जसबाट धेरै नराम्रो परिणाम निस्कन्छ । बेरोजगारी भन्नाले कुनै काममा नलागेको भन्ने बुुझिन्छ, तर यसबाट काम गर्न नचाहने अल्छीलाई पनि बेरोजगारी भन्नुपर्ने हुुँदा आर्थिक दृष्टिले बेरोजगारी भन्नु काम गर्ने इच्छा र योग्यता भएर पनि कुुनै पनि काम नभएर त्यसै बस्नु हो । वर्तमान समयमा नेपालका बिभिन्न समस्याहरु मध्य बेरोजगारी समस्या समेत एक प्रमुख समस्याको रुपमा बिध्यमान रहेको पाईन्छ ।

उमेरका आधारमा गरिने पहिचानअनुरुप वाल्यावस्था पार गरिसकेका र प्रौढावस्थामा पुगिनसकेका समूहका व्यक्तिलाई युवा भनिन्छ । युवा त्यो उमेर समूह हो जसमा राष्ट्रको भविष्यका कर्णाधार वर्तमानका साझेदार तथा विकास र परिवर्तनका संवाहकको सामथ्र्य रहेको हुन्छ । राष्ट्र निर्माणमा सबै उमेर र अवस्थाका व्यक्तिहरुको भूमिका महत्वपूर्ण मानिन्छ । तर युवाहरुको भूमिकालाई अझ अर्थपूर्ण र क्रियाशील रुपमा हेरिन्छ । युवालाई सिर्जनशील, सीपयुक्त, उद्यमी र जिम्मेवार नागरिकको रुपमा विकसित हुने अवसर राज्यले सृजना गर्नुपर्दछ । मुलुकमा भएका आर्थिक, सामाजिक, राजनीतिक परिवर्तनमा युवा शक्तिको निर्णायक सहभागिता हुन्छ ।

हाम्रो देशका युवाहरुको पनि कयौं समस्या दसकौंदेखि यथावत छन । युवाहरुको बलिदानीपूर्ण सघंर्षबाट आएको राजनीतिक परिवर्तन पश्चात गठन भएका लोकतान्त्रिक र गणतान्त्रिक सरकारहरुले पनि युवाहरुको समस्यामाथि सम्बोधन गर्न सकेको छैन । युवा हित र कल्याणका कार्यक्रमका नाममा केही दर्जन गैरसरकारी संस्था परिचालन गरी सीमित व्यक्तिहरुलाई पोस्ने कार्य भइरहेको छ । स्वदेशमै रहेर देश विकासको निम्ति उपयोग हुने युवा जनशक्तिलाई विदेशिन बाध्य पारिएको छ । हुनत विदेशमा पसिना बगाएका युवाहरूले नै अहिले नेपालको अर्थतन्त्र धानेका छन्।

नेपाली अर्थतन्त्रमा कुल गार्हस्थ्य उत्पादनको झन्डै २५ प्रतिशत हिस्सा रेमिन्ट्यान्सले ओगट्नु नै यसको सबल प्रमाण हो। केही वर्षयता रेमिन्ट्यान्स र सरकारी वित्तीय सुदृढीकरण नीतिले वित्त घाटालाई नियन्त्रण गर्न सफल भए पनि नेपाली युवाहरूको रोजगार पाउने अवसर भने मृगतृष्णा भएको छ। तर पनि नेपालको नीति निर्माण तहमा बेरोजगारीलाई महत्वको रूपमा हेरिएको पाइँदैन। गरिबहरूका लागि बाँच्ने आधार नै रोजगार हो। त्यति मात्र होइन, उत्पादनको महत्त्वपूर्ण साधन श्रम हो, तर यो यस्तो साधन हो, जसलाई सञ्चित गरेर राख्न सकिंदैन। कुनै व्यक्तिले काम गर्ने समयमा काम पाएन भने त्यो व्यक्तिका लागि समय फर्केर आउँदैन। त्यो समय सदाका लागि खेर जान्छ। बेरोजगारी रहनु भनेको अर्थशास्त्रीय दृष्टिकोणले उत्पादनको साधन खेर जानु र व्यक्तिले आय गुमाउनु पनि हो। यसबाहेक रोजगारको आर्थिक र सामाजिक महत्व पनि त्यत्तिकै छ। रोजगारबाट एउटा व्यक्तिले सहज ढङगले जीविका चलाएर समाजमा मर्यादापूर्वक बस्न सक्दछ।

कुनै पनि देशको विकासमा युवा जनशक्तिको भूमिका अग्रणी हुन्छ। युवाको श्रम, सीप, जोश र जाँगरको सही एवं उचित सदुपयोग भयो भने त्यो देशको विकास हुनमा समय लाग्दैन। तर नेपालमा सरकारले युवाको श्रम र शक्तिको सही सदुपयोग गर्न नसकेको कारण नै मुलुकमा आन्तरिक द्वन्द्व बढ्दै गएको कुरालाई कसैले नकार्न सक्दैन। युवाहरूको आवश्यकता र चाहनालाई परिपूर्ति गर्नका लागि रोजगारका अवसरहरू प्रदान गर्न सकेनौं भने उनीहरूको क्षमता र ऊर्जा, आक्रोश अपराधमा लाग्न सक्छ। यसरी बेरोजगारी बस्न बाध्य भएका युवाहरूले आफ्नो जीविकोपार्जनका लागि जस्तोसुकै बाटो अँगाल्न सक्छन् भन्ने कुरालाई सरकारले राम्रोसँग बुझिसकेको हुनुपर्दछ । त्यसैले मुलुकको दिगो विकासको लागि युवाहरूको क्षमता र ऊर्जालाई स्वदेशभित्रै सहीरूपमा सदुपयोग गर्ने नीति राज्यले लिनुपर्दछ। अन्यथा बढ्दो बेरोजगारीले सिङगो समाजमा द्वन्द्व, अपराध र अराजकतालाई बढाउने काम गर्छ।

नेपालमा रोजगार सृजनाका निम्ति कृषि क्षेत्र एउटा सशक्त र प्रमुख आधारस्तम्भको रूपमा रहेको छ। त्यसैले मुलुकमा रोजगार सृजनाका लागि विद्यमान कृषि अर्थतन्त्रको संरचनागत परिवर्तन गरी कृषिले जग्गाको वैज्ञानिक उपयोग गर्न पाउने अवस्था सृजना गर्नुपर्दछ। नेपालमा बेरोजगारी बढ्नुको एक मुख्य कारण विद्यमान शिक्षा प्रणाली पनि हो, जसले प्रत्येक वर्ष न्यून प्राविधिक तथा व्यावसायिक जनशक्ति उत्पादन गर्ने गर्छ। यस्तो शिक्षाले बेरोजगारीको दरलाई अझ बढाएको छ। त्यसैले प्रत्येक नेपाली नागरिकलाई माध्यमिक तहदेखि नै व्यावसायिक तथा जीवनोपयोगी शिक्षा प्रदान गर्ने नीति राज्यले लिनुपर्दछ। नत्र जतिसुकै सुधारका प्रयास गरे पनि बेरोजगारी समस्याको निराकरण गर्न सकिंदैन। गाविस तहसम्म सीपमूलक तालिम तथा दक्षता अभिवृद्धि कार्यक्रम सञ्चालन गर्न तथा औपचारिक शिक्षाको उमेर पार गरिसकेका नागरिकलाई पनि उनीहरूको घरदैलोमा पुगेर पेशागत सीप, वैज्ञानिक उन्नत खेती, पशुपालन, फलफूल तथा तरकारी खेती, माछापालन, जडीबुटी व्यवसाय तथा लघु उद्यमको सीप सिकाएर रोजगारी तथा स्वरोजगार विकास गर्नु आजको अपरिहार्य आवश्यकता हो। त्यस्तै जस्तोसुकै काम भए पनि श्रमको सम्मान गरिनुपर्छ भन्ने मानसिकता विकसित गर्नु र गराउनु पनि त्यत्तिकै आवश्यक छ।