अब नेपालमै मिस्टर एण्ड मिस टिकटक प्रतियाेगिता, उत्कृष्टलाई चलचित्रमा अफर

होमल्याण्ड खबर

२०७७ आश्विन ५ गते, सोमबार १३:०४ मा प्रकाशित

काठमाडौं । नेपालमा मिस्टर एण्ड मिस टिकटककाे आयोजना हुने भएको छ । साे प्रतियाेगिताले नेपाली चलचित्र क्षेत्रमा नयाँ र प्रातिभावान् कलाकार भित्र्याउन मद्दत पुग्ने विश्वास लिइएकाे छ ।

प्रतियोगीहरूले अभिनय गरेको भिडियो टिकटकमा अपलोड गरेर त्यो भिडियो प्रतियोगितामा पठाउनु पर्नेछ । आगामी २९ सेप्टेम्बरसम्म प्रतियोगीहरूले सहभागिता जनाइसक्नु पर्ने आयोजक द जीएमआईले जनाएकाे छ ।

प्रतियाेगिताकाे निर्णायक मण्डलमा अभिनेत्री प्रियंका कार्की, हास्य अभिनेता किरण केसी र नृत्य निर्देशक कविराज गहतराज रहेका छन् ।

प्रतियोगितामा सहभागिताका लागि  शुल्क १ सय रुपैयाँ राखिएको छ । प्रतियोगितामा उत्कृष्ट हुनेले एउटा चलचित्र, दुईवटा म्युजिक भिडियोमा काम गर्ने अवसरका साथै १ लाख ५० हजार रुपैयाँ पनि प्राप्त गर्नेछ ।

प्रतियोगितामा दोस्रो हुनेले एउटा वेभ सिरिज, एउटा म्युजिक भिडियोमा अभिनयको अवसर र १ लाख रुपैयाँ पाउने बताइएको छ । तेस्रो हुनेले एउटा म्युजिक भिडियोमा अभिनय अवसर र ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।