दशैंमा घर जानेले क्वारेन्टिनमा बस्नु पर्छ कि पर्दैन ?

होमल्याण्ड खबर

२०७७ आश्विन २२ गते, बिहीबार १३:२८ मा प्रकाशित

काठमाडौं । दशैं आउन अब १९ दिन मात्र बाँकी छ । आम नागरिकहरु दशैंमा घर जानको लागि तयारी अवस्थामा भएपनि गाउँ गएपछि क्वारेन्टिनमा बस्नु पर्छ कि पर्दैन भन्ने दुविधामा भने उतिकै छन् । धेरैले गाउँ गएर क्वारिन्टिनमा बस्नु भन्दा काठमाडौंमै बस्नु उचित ठानेर काठमाडौंमै बस्ने मनसाय पनि गरिसकेका छन् भने अधिकांशले महान पर्व दशैंमा घरमै जाने निधो पनि गरेका छन् ।

तर अझै पनि उनीहरु गाउँमा गएर आयइोलेसन अर्थात क्वारिन्टिनमा बस्नु पर्ने होकि भन्ने चिन्तामा भने उतिकै छन् ।
अहिले दशैंका लागि काठमाडौं उपत्यकाबाट घर जानेहरुको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । काठमाडौंबाट जानेहरु बढेपछि देशका विभिन्न स्थानीय तहहरुले क्वारेन्टिन र आइसोलेसनमा बस्नु पर्ने व्यवस्था गरेका छन् । त्यसैले पनि नागरिकहरु घर गएर १४ दिन क्वारेन्टिनमा बस्नुभन्दा नजानु नै उचित पनि ठानि रहेका छन् ।

यद्यपि सरकारले पनि आफु जहाँ छौं त्यहीँ बसेर दशैं मनाउन आग्रह गरिहरेको छ । घर जान चाहनेहरुका लागि सरकारले हालसम्म कुनै निर्णय नगरेपनि स्थानीय सरकारले जोखिमको अवस्था हेरेरे निर्णय लिन सक्ने गृह मन्त्रालयले जनाएको छ ।
गृह मन्त्रालयका प्रवक्ता चक्र बहादूर बुढाले विभिन्न स्थानीय तहहरुले कोरोनाको जोखिम हेरेर निर्णय लिन सक्ने बताए । ‘अहिले काठमाडौंमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ, काठमाडौंमा रहेकोहरु पीसीआर परीक्षण बिना घर गएपछि उनीहरुमा कोरोना हुन सक्ने सम्भावना पनि हुन सक्छ, यसलाई हेरेर सम्बन्धित स्थानीय तहले निर्णय लिनन्छन्,’ उनले भने ।

‘सरकारले आफू बसेकै स्थानमा दशैं मनाउन आग्रह गरिरहेको बताइरहेको छ, धेरै त घर पनि नजालान्, आवश्यक हुनेहरु गएपनि त्यसको व्यवस्थापन स्थानीय तहहरुले गर्लान्, १४ दिननै क्वारिन्टिन नबसालेपनि ७ दिन पनि बसाल्न सकिन्छ,’ उनले भने ।

यसमा केन्द्र सरकारले कुनै बाध्यकारी निर्णय नगर्ने उनले स्पष्ट पारे । तर, यात्रुहरुले सरकारले जारी गरेका स्वास्थ्य मापदण्डहरु भने अवश्य नै पालना गर्नु पर्ने उनको भनाई छ ।

सरकारले सवारी साधन र यात्रुहरुका लागि स्वास्थ्य सुरक्षाका मापदण्डहरु यस अघि नै जारी गरिसकेको छ ।
सरकारले यातायात व्यवसायी र मजदुर संगठनहरूले चालक–सहचालक, परिचालक र बुकिङ कर्मचारीले मास्क, स्यानिटाइजर, पन्जा, फेस भाइजर (चालक बाहेक) लगायतका स्वास्थ्य उपकरण अनिवार्य प्रयोग गर्नुपर्ने मापदण्ड बनाएको थियो । सो मापदण्डहरु यात्रुहरुले पनि पालना गर्नु पर्नेछ ।

दशैं नजिकिए सँगै गाउँ फर्किनेहरुको संख्या पनि वर्षेजनी बढ्दै गएको छ । यो वर्ष पनि करिब ६ लाख मानिस उपत्यका छोड्न सक्ने अनुमान गरिएको छ । सरकारले हालसम्म अग्रिम बुकिङ खोल्ने निर्णय गरिसकेको छैन ।

अग्रिम बुकिङ खुलिसकेपछि यात्रुहरुहरुले टिकट काटेर स्वास्थ्य सुरक्षा का मापदण्डहरु पालना गरी गाउँ जान सक्नेछन् । आफु जाने स्थानीय तहले क्वारेन्टिन तथा आइसोलेसन मा बस्नु पर्ने व्यवस्था गरेको छ वा छैन त्यसलाई बुझेर सोह बमोजिम यात्रुले आफुलाई सजग तथा सचेत बनाउनु पर्नेछ ।