९ मंसिर २०८१, आईतवार
पछिल्लो समय मोबाइल बैंकिङ कारोबार उल्लेख्य बढेको छ । गत मंसिरदेखिको एक वर्षको अवधिमा २८ लाख १३ हजारले मोबाइल बैंकिङ प्रयोगकर्ता बढेका हुन् । कोभिड–१९ को बढ्दो जोखिम, लकडाउनका कारण सहज आवतजावतमा पुगेको बाधा, बैंकहरूले विद्युतीय बैंकिङ कारोबार निःशुल्क गरेकोलगायत कारणले मोबाइल बैंकिङ प्रयोगकर्ता उल्लेख्य बढेको राष्ट्र बैंकले जानकारी दिएको छ । ‘कोभिडको समयमा राष्ट्र बैंकले पनि विद्युतीय कारोबारलाई जोड दिएको र बैंक तथा वित्तीय संस्थाले पनि विद्युतीय भुक्तानी प्रणालीलाई बढी प्रोत्साहन गरेकाले मोबाइल बैकिङ प्रयोगकर्ता बढेको राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले बताए ।
गत मंसिरसम्म ९० लाख ९९ हजार ७३२ रहेका मोबाइल बैकिङ प्रयोगकर्ता अहिले बढेर एक करोड १९ लाख १२ हजार ८१३ पुगेको राष्ट्र बैंकको तथ्यांक छ । लकडाउन अवधिमा मोबाइल बैंकिङ कारोबार संख्यासँगै कारोबार रकम पनि उल्लेख्य बढेको छ । गत कार्तिकसम्म ७६ लाख ४३ हजार २९६ पटक मोबाइल बैकिङ कारोबार भएर २ अर्ब ५६ करोड ५४ लाख करोबार भएको राष्ट्र बैंकको तथ्यांक छ ।
गत जेठसम्म मोबाइल बैंकिङमार्फत १८ अर्ब ७१ करोड रुपैयाँ बराबर कारोबार भएको छ । गत चैतमा यस्तो रकम ५ अर्ब ६४ करोड रुपैयाँ थियो । लकडाउनमा बैंक तथा वित्तीय संस्थाले अन्तरबैंक एटीएम कारोबार, नेपाल क्लियरिङ हाउसले कनेक्ट आईपीएस, राष्ट्र बैंकले आरटीजीएसलगायत कारोबार निःशुल्क गरेका थिए । आरटीजीएस, ईसीसी, कनेक्ट आईपीएस, ई–कमर्स, पीओएस, वालेट र क्यूआर कोडमार्फतको कारोबार पनि लकडाउनका बेला बढेको राष्ट्र बैंकको मासिक प्रतिवेदनले देखाएको छ ।
यही कारण मोबाइललगायत सबै प्रकारका अनलाइन प्रणालीमार्फत हुने बैंकिङ कारोबार बढेको राष्ट्र बैंकले बताएको छ । नगदरहित कारोबार प्रोत्साहित गर्ने राष्ट्र बैंकको नीतिअनुरूप पछिल्ला वर्षमा डिजिटल बैंकिङ कारोबार निरन्तर बढ्दो छ । चालु आवको मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले पनि सबल र सुरक्षित विद्युतीय भुक्तानी प्रणालीको विकास गर्ने, नगद कारोबार न्यूनीकरण गर्न सबै प्रकारका वित्तीय कारोबार विद्युतीय माध्यमबाट गर्न प्रोत्साहित गरिने बताएको थियो ।
इन्टरनेट बैकिङ प्रयोगकर्ता पनि बढे
यो अवधिमा मोबाइल बैकिङ प्रयोेगकर्तामात्र बढेका होइनन्, इन्टरनेट बैकिङको पनि ग्राहक बढेका छन् । एक वर्षको अवधिमा इन्टरनेट बैकिङ प्रयोगकर्ता एक लाख ३२ हजार ६ सय ३१ बढेका छन् । गत आवको मंसिरसम्म ९ लाख २८ हजार ७०९ रहेको इन्टरनेट बैकिङका ग्राहक बढेर अहिले १० लाख ६१ हजार ३४० पुगेको छ ।
विद्युतीय कारोबार सञ्चालनका लागि अनुमति पाएका संस्थाको गुणस्तर वृद्धि गर्न राष्ट्र बैंकले यसै वर्षदेखि यसअघि सैद्धान्तिक सहमति दिएका बाहेक नयाँ अनुमति दिने काम रोकेको छ ।
विद्युतीय भुक्तानीमा क्यूआर कोडलाई तरकारी बजारमा समेत प्रयोग गराएर भुक्तानी प्रणालीलाई व्यवस्थित बनाएको छ । डिजिटल बैंकिङ बढेसँगै सञ्चालन जोखिम पनि त्यत्तिकै बढेको छ । युजरनेम र पासवर्ड चोरी गरी रकम चोरी गर्ने, एटीएमबाट रकम चोर्ने, बैंक तथा वित्तीय संस्थाको सर्भर ह्याक गरी रकम स्थानान्तरण गर्नेलगायत घटना नेपालमै भइरकेका छन् ।