भारतमा टिपरले ठक्कर दिँदा १३ जनाकाे मृत्यु, १८ जना घाइते

होमल्याण्ड खबर

२०७७ माघ ७ गते, बुधबार ११:२० मा प्रकाशित

भारतकाे जलपाइगुडीमा भएकाे दुर्घटनामा परी १३ जनाको मृत्यु भएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार मंगलबार राति पश्चिम बंगालकाे जलपाइगुडी जिल्लाको धुपगुरी सहरमा टिपरले केही गाडीलाई ठक्कर दिँदा १३ जनाकाे मृत्यु भएकाे हाे ।

दुर्घटनामा अन्य १८ जना घाइते भएका छन् । बाक्लो हुस्सुका कारण चालकले बाटो नदेख्दा दुर्घटना भएको अनुमान गरिएकाे छ ।

घाइते भएकाहरूमध्ये ४ जनाकाे जलपाइगुडी सुपरस्पेसियालिटी हस्पिटलमा उपचार भइरहेकाे छ भने ३ जनाकाे उत्तर बंगाल मेडिकल कलेज र १ जनाकाे जलपाइगुडी सदर अस्पतालमा उपचार भइरहेकाे प्रहरीले जनाएकाे छ । अन्य घाइतेकाे अवस्था सामान्य रहेकाे र उनीहरू प्राथमिक उपचारपछि घर फर्किएकाे जनाइएकाे छ ।

यसअघि साेमबार राति गुजरातमा फुटपाथमा सुतिरहेका मजदुरलाई ट्रकले किच्दा १५ जनाको मृत्यु भएको थियो भने ५ जना गम्भीर घाइते भएका थिए ।