मेलम्ची खानेपानीको सुरुङ परीक्षण आजदेखि

होमल्याण्ड खबर

२०७७ फाल्गुन १० गते, सोमबार ११:४५ मा प्रकाशित

बहुप्रतीक्षित मेलम्ची खानेपानीको साढे २६ किलोमिटर सुरुङमा आजदेखि पानी भर्न थालेर परीक्षण गरिने भएको छ । खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी विकास समितिले आवश्यक सम्पूर्ण प्राविधिक काम पूरा गरेसँगै पानी हालेर परीक्षण गरिन लागिएको हो ।

आयोजनास्थल मेलम्चीमै औपचारिक कार्यक्रम राखेर पानी भर्न शुरु गरिने छ । खानेपानी मन्त्री मणि थापाको उपस्थितिमा सुरूङमा पानी हालेर परीक्षण गरिने मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिए ।

गत २९ असारमा परीक्षणका लागि सुरुङमा पानी भर्न सुरु गरेको २४ घण्टा नबित्दै हेलम्बु गाउँपालिका–१ स्थित अम्बाथानको अडिट टनेलको गेट (नं.१७) भत्किएपछि फुटेर निस्केको पानीले आयोजनाका एक इन्जिनीयर र चालकलाई बगाएको थियो ।

त्यसपछि आयोजनाको मुख्य दातृ निकाय एशियाली विकास बैंक (एडीबी) को अनुदान सहयोगअन्तर्गत चारजना विशेषज्ञको टोलीले सुरुङ, मुहानस्थल, गेटलगायतका संरचनाको पुनः जाँच गरेको थियो ।

आयोजनाका कार्यकारी निर्देशक रितेश खत्रीले विशेषज्ञहरुको निरीक्षण पछि उनीहरुका महत्वपूर्ण सुझावलाई समावेश गरी पुनः परीक्षणका लागि तयार भएको जानकारी दिए । अहिले मुख्य सुरुङका चारवटै अडिट टनेलका गेट सुधार गरिएको छ । गेट जडानको काम चलिरहँदा एडीबीको विज्ञ टिमले आयोजना स्थलको अनुगमन गरेर प्रतिवेदन दिएको थियो ।

अम्बाथानको ग्याल्थुम र सुन्दरीजलमा हाइड्रोमेकानिकल गेट जडानको काम सकेर पानी हाल्न लागिएको हो । आयोजनाको मुहानमा बन्ने हेडवर्क्ससहित निर्माणको काम अहिले चिनियाँ कम्पनी सिनो हाइड्रोमार्फत भइरहेको छ । आयोजनाको स्थायी बाँध र बालुवा थिग्राउने संयन्त्र (डिसेन्डर) बनिनसके पनि यसअघि नै बनाइएको स्थायी बाँधमार्फत सुरुङमा पानी हाल्ने योजना छ ।

गतको जस्तो दुर्घटना नहोस् भन्नका लागि आयोजनाले यसपालि विशेष सतर्कता अपनाएको खत्रीले बताए । परीक्षणका क्रममा हेलिकप्टरलाई तयारी अवस्थामा राखिएको छ । उद्धार योजना बनाएर धुलिखेलदेखि काठमाडौँस्थित विभिन्न अस्पतालहरुसँग समन्वय गरिएको छ । खत्रीका अनुसार सिन्धुपाल्चोकको मेलम्ची खोलादेखि काठमाडौँको सुन्दरीजलसम्मको साढे २६ किलोमिटर सुरुङ भर्न १६ दिन लाग्नेछ । सुरुआती चरण भएकाले सुरुङको क्षमताअनुसार पानी नछाडिने उनको भनाइ छ ।

परीक्षणका लागि पहिले जसरी नै प्राविधिक मापदण्डअनुसार प्रतिसेकेन्ड २६० लिटर पानीका दरले सुरुङमा पानी प्रवाह गरिनेछ । सुरुङमा पानी भरिएपछि करिब १० दिन यतिकै राखिनेछ । त्यसपछि प्रतिसेकेन्ड २६० लिटरकै दरमा १५ देखि २० दिन लगाएर बाहिर पानी फालेर सुरुङ खाली गरिनेछ । पानी सबै फालिसकेपछि करिव ७ दिन लगाएर सुरुङको गुणस्तर परीक्षण गरिनेछ ।

यो पानी सुन्दरीजलमा तयार रहेका २ वटा प्रशोधन केन्द्र हुँदै वितरण प्रणालीमा पठाइने छ । सबै अवस्था सामान्य हुँदा मेलम्चीको पानी मुख्य वितरण लाइनमा पठाउने काम थाल्न पुसपछि पनि दुईदेखि तीन महिना लाग्ने अनुमान छ ।

ठेकदार र आयोजनाले प्रधानमन्त्री कार्यालयमा बुझाएको कार्यतालिका अनुसार काम भयो भने २०७८ वैशाख २ गतेसम्म आयोजनाको काम सकिनेछ ।