७ बैशाख २०८२, आईतवार
पशुपतिनाथ मन्दिरको मूल शिवलिंगको जलहरीलाई सुनले ढाकिएको छ । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा.प्रदीप ढकालका अनुसार बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले पूजा–आराधाना गरेसँगै पशुपतिनाथको मूल शिवलिंगको जलहरीलाई सुनले ढाकिएको हो ।
त्यस्तै, पशुपतिनाथमा रहेको चाँदीको जलहरी जीर्ण भएकाले त्यही चाँदीको जलहरीलाई सुनको आवरणले ढाकिएको उनको भनाइ छ । १०८ किलोको सुनको जलहरी अर्पण गरिएको उनले बताए । यस कार्यका लागि ८० करोड रुपैंया खर्च भएको बताइएको छ ।
विगत ३ वर्षदेखि निर्माण भइरहेको काम बुधबार सम्पन्न भएको बताइएको छ । बुधबार राष्ट्रपति भण्डारीले सुनको जलहरी अनावरण गरेकी हुन् । सुनको जलहरी अर्पण गर्नको लागि विगत पाँचदिन अघिदेखि पशुपतिनाथमा विधिपूर्वक पुजाआजा भइरहेको थियो ।
यो वर्षको शिवरात्रीमा अघिल्ला वर्षहरुमा जस्तो भक्तजन नआउने बताइएको छ । दर्शनको सहज व्यवस्थापन, स्वास्थ्य तथा सुरक्षालाई ध्यानमा राख्दै तयारी गरिएको जनाइएको छ ।