९ मंसिर २०८१, आईतवार
जिल्ला स्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) ले भक्तपुरको प्रसिद्ध बिस्केट जात्रामा यस वर्ष पनि रोक लगाउने निर्णय गरेको छ ।
प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईको संयोजकत्वको समितिको आइतबार बसेको बैठकले कोरोना संक्रमण फैलिने खतरा बढेपछि बिस्केट जात्रा रोक्ने निर्णय गरेको हो।
विस्केट जात्रामा रथ तान्ने तथा लिङ्गो ठड्याउने काममा हजारौं भक्तजन सहभागी हुने गरेकाले भीडभाडले कोभिड–१९ संक्रमण फैलिन गई भयावहको अवस्था सिर्जना हुन सक्ने सम्भावना रहेकाले यस वर्षको जात्रामा रथको पूजा मात्र गर्ने निर्णय भएको प्रजिअ भट्टराईले बताए।
बैठकले मध्यपुर थिमि क्षेत्रमा मनाइने प्रसिद्ध जिब्रो छेड्ने जात्रा, सिन्दुर जात्रा समेत नगर्न आग्रह गरेको छ। यस्तै‚नयाँ वर्ष २०७८ को अवसरमा हुने पूजापाठ, सप्ताह र पिकनिक जस्ता कार्यक्रम नगर्न समेत अनुरोध गरेको छ।
कोभिड–१९ संक्रमणको जोखिम नियन्त्रण गर्न कोभिड–१९ को मापदण्डको पालना तथा भीडभाड हुने गरी कुनै किसिमको कार्य नगर्न, नगराउन तथा प्रचार प्रसार लगायत जनचेतनामुलक कार्यक्रम गर्न सवै नगरपालिकाहरुलाई अनुरोध गर्ने र कोभिड–१९ को जोखिम नियन्त्रणका लागी नेपाल सरकारबाट जारी भएको मापदण्डहरुको उल्लघन गर्नलाई संक्रामक रोग ऐन २०२० बमोजिम कारबाही गर्ने निर्णय समेत गरेको छ।
स्थानीयहरुले प्रशासनले स्थानीय तह, स्थानीय संस्कृतिकर्मी, जात्रासँग सरोकारवाला निकाय, गुठी, खलः, पुचलगायतकालाई बेवास्ता गर्दै प्रशासनले एकतर्फीरुपमा निर्णय गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।
गत वर्ष पनि कोरोना संक्रमणको कारण स्थानीय प्रशासनले बिस्केट जात्रामा रोक लगाएको थियो ।
भक्तपुरमा आठ दिन नौ रातसम्म धुमधामका साथ मनाउने बिस्केट जात्रा यस वर्ष चैत २८ गतेबाट सुरु हुँदैछ ।